Deshko News
१४ आश्विन २०८०, आइतबार

बेनी अस्पतालमा पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया



बेनी (म्याग्दी), जेठ २८

म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ ।

मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा घिरेन मल्लसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो ।

तीनवर्ष अगाडि विवाह गरेकी युवतीको पाठेघरभित्र रहेको गर्भ गत चैत ३० गते खेर गएपछि निराश भएर घरमै बसेको अवस्थामा तीनदिनदेखि लगातार दाहिने कोखो दुख्न थालेपछि बेनी अस्पतालमा भर्ना भएकी थिइन् ।

एपेन्डिक्स भएको अनुमान गरिएपनि भिडियो एक्स–रेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ देखिएपछि तत्कालै चिकित्सकको टोली इमर्जेन्सी बैठक बसेर सफल शल्यक्रिया गर्न सफल भएको डा मल्लले बताउनुभयो । “पाठेघर बाहिर नफुटेको अवस्थामा गर्भ भेटियो । यस्तो केस चिकित्सा क्षेत्रमै दुर्लभ मानिन्छ” – डा मल्लले भन्नुभयो ।

तेह्र हप्तासम्म पाठेघर बाहिर बच्चा हुर्किरहेको अवस्थामा भेटिएको र शल्यक्रियाका क्रममा पनि बच्चाले केही समय खुट्टा चलाइरहेको थियो, डा मल्लले भन्नुभयो । पाठेघर बाहिर १३ हप्तासम्म जीवित अवस्थामा बच्चा भेटिने विश्वकै ३० हजार गर्भवती महिलामा एकजनामा हुने उहाँले जानकारी दिनुभयो ।

विश्वभरका अनुसन्धानअनुसार चिकित्सा क्षेत्रमा ठूला र दुर्लभ शल्यक्रियाभित्र पर्ने यस्तो शल्यक्रियामा सफलता प्राप्त गरेपछि बेनी अस्पतालका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रोशन न्यौपानेले शल्यक्रियामा खटिएका टोलीलाई बधाई दिनुभएको छ । “ठूला अस्पतालमा समेत यस्ता घटना भेटिँदैनन्” – डा न्यौपानेले भन्नुभयो ।

बेनी अस्पतालमा दुईवर्षको अन्तरालमा चिकित्सा क्षेत्रमै जटिल र ठूला मानिएका करिब एक दर्जन शल्यक्रिया गरिएको छ । पाठेघर बाहिर आन्द्रामा बच्चा बसेको, योनीभित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाइते, पिसाबको थैलीमा भएका ढुङ्गा, अण्डकोष तल नझरेकोलगायतका शल्यक्रिया बेनी अस्पतालमा सम्पन्न भएका डा न्यौपानेले जानकारी दिनुभयो ।

निक साइमन इन्स्टिच्युट अमेरिकाले अनुभवी चिकित्सक, शल्यक्रियामा प्रयोग हुने जनरल एनेस्थेसिया जिए मेसिनसमेत उपलब्ध गराएकाले शल्यक्रियामा सहज भएको छ ।

अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा लिने बिरामीको समेत चाप धेरै छ । रु ४० हजार देखि ७० हजारसम्म खर्च हुने शल्यक्रिया बेनी अस्पतालमा निःशुल्क हुन थालेपछि छिमेकी जिल्लाबाट समेत बिरामी आउन थालेका छन् । रासस

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News