यी हुन् भोजपुरका देवी ज्ञवाली, यस्तो छ सम्भावित अंक गणित


 


ध्रुव सुवेदी
काठमाडौं, जेठ ३०
देवी ज्ञवाली खासमा भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार हुन् । एमाले उम्मेदवार रहेका ज्ञवाली यति धेरै चर्चित भए कि उनको नाम नसुन्ने विरलै भेटिएला ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेल र तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालसँगको रोचक प्रतिस्पर्धाले सवैको ध्यान ज्ञवालीले खिच्न सफल भए ।

कांग्रेस सभापति शेरबहादुर देउवा जसरी पनि प्रधानमन्त्री बन्न आफ्नै उम्मेदवार दिनेश कोइरालालाई बलिको बोको बनाउन बाध्य भए भने दाहाल छोरी जिताएर भरतपुरमा आफ्नो राजनीति सुरक्षित गर्दे कुर्सी छाड्न तयार भए ।

अब देवी ज्ञवाली कुनै पार्टीको उम्मेदवार भन्दा आम मानिसका लागि एउटा ब्राण्ड नै बने । कहि कतै तालमेल भयो भने यहाँ देवी ज्ञवाली जन्मिए भनेर चर्चा हुने गरेको छ ।

यस्तै चर्चाको शिखरमा पुगेको छ पूर्वि पहाडको भोजपुर जिल्ला र त्यहाँका दुई गाउँपालिका । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिका र पश्चिमी क्षेत्रमा रहेको ट्याम्के मैयुम गाउँपालिका यतिबेला चर्चामा छन् भने भोजपुरको भरतपुर, भोजपुरका देवी ज्ञवाली लगायतका नाम, उपनामले यो ठाउँ र यहाँका उम्मेदवार परिचित बन्न थालेका छन् ।

ट्याम्के मैयुङ गाउँपालिका

अहिले सर्वाधिक चासोको गाउँपालिका हो, ट्याम्के मैयुङ गाउँपालिका । जिल्लाको सबैभन्दा समृद्ध गाउँपालिका मात्र हैन यो गाउँपालिका सबैभन्दा बढी नेता भएको गाउँपालिका पनि हो ।

धेरै नेता र उम्मेदवारीमा तालमेलका कारण यो गाउँपालिका सर्वाधिक चासोको गाउँपालिका बनेको छ । आठवटा गाविस तिम्मा, छिनामखु, अन्नपूर्ण, नाागी, खावा, कोट, गोगने र लेखर्क गाविस गाभेर यो गाउँपालिका बनेको हो भने यो गाउँपालिकामा दुई वटा निर्वाचन क्षेत्र पर्दछन् ।

लेखर्क, गोगने र कोट क्षेत्र नं २ अन्र्तगत छन् भने बाँकी पाँच गाविस क्षेत्र नं १ अन्र्तगत छन् । १७ हजार ९ सय ११ जम्मा जनसंख्या रहेको यो गाउँपालिका १७३.४१ वर्ग कि.मिमा फैलिएको छ । मतदाता भने यहाँ ११ हजार एक सय ३५ रहेका छन् ।

यहाँ एमालेका दुई केन्द्रिय सदस्य छन् भने संघीय समाजवादी फोरमका दुई जना पदाधिकारी नै छन् । कांग्रेस लिल्ला सभापति यही गाउँपालिकाका हुन् भने एमाले, माओवादी र फोरमका दर्जन बढी जिल्ला तहका नेता पनि यही गाउँपालिकामा छन् ।

प्रतिष्ठाको लडाँइ

यहाँ एमाले विरुद्ध कांग्रेस, माओवादी र फोरम एकजुट भएका छन् । एमालेले युुवा नेता ध्रुव राईलाई मैदानमा उतारेको छ भने संयुक्त गठबन्धनले फोरमका नेता रामसिं राईलाई उठाएको छ ।

एमाले केन्द्रिय सदस्य एंव सांसद जयन्ती राई र एमाले वैकल्पिक केन्द्रिय सदस्य हरिबहादुर राई यही गाउँपालिकाका हुन् । एमाले जिल्ला सचिव शरण कुमार राई लगायत यो गाउँपालिकामा एमालेका दुई दर्जन बढी जिल्ला कमिटी सदस्य छन् । अधिकांश जनवर्गिय संगठन प्रमुख यही गाउँपालिकाका नेताले प्रतिनिधित्व गर्छन् ।

कांग्रेस लिल्ला सभापति नन्दमणी राई यही गाउँपालिकाका हुन् भने एक दर्जन बढी कांग्रेसका जिल्ला तहका नेता यही गाउँपालिकाको उत्पादन हुन् ।

संघीय समाजवादी फोरमका दुई जना पदाधिकारीको गाउँपालिका समेत ट्याम्के मैयुङ हो । फोरमका उपाध्यक्ष हेमराज राई र सचिव अजम्बर राई काङमाङ यही गाउँपालिका वडा नं ४ का स्थायी बासिन्दा हुन् ।

तीन पार्टीका यति धेरै नेता भएको यो गाउँपालिकामा तुलनात्मक रुपमा माओवादी केन्द्रका कम नेता छन् ।

एमाले भर्सेज गठबन्धनले यो गाउँपालिकालाई प्रतिष्ठाको विषय बनाएका छन् । तीन वटै दलको नेता गाउँपालिकाको रुपमा रहेको यो गाउँपालिका आफ्नो कब्जामा लिन दलहरु सक्रिय भएका छन् । मतदाता खेतीमा व्यस्त भए पनि नेताहरु मतदाता रिजाउनमा तल्लिन छन् ।

कस्तो छ अंकगणित ?

०५४ को स्थानीय निकायको निर्वाचनमा यी सबै गाविस एमालेले कब्जा गरेको गाउँपालिका हो । पछिल्लो २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा यी दुबै क्षेत्र एमालेकै कब्जामा गएको थियो ।

संविधानसभाको चुनाबमा यही गाउँपालिकाबाट कांग्रेसका नेता धर्मराज राई र फोरमका नेता अजम्बर राई काङमाङ उठेका थिए । संगठनबिना भाषण गरेकै भरमा काङमाङले त्यतिबेला ४ हजार ६६ मत ल्याएर क्षेत्र नं १ मा तेस्रो पोजिसन कायम गरेका थिए ।

त्यतिबेला अजम्बरलाई अत्याधिक मत दिने गाविस यही गाउँपालिकाका थिए । तर यो चार बर्षमा समय मात्र बदलिएन परिस्थिति पनि पुरै अदलबदल भएको छ । त्यतिबेला कमजोर बनेको एमाले यतिबेला एकाएक बलियो बनेर आएको छ । धेरै संघीयमा गएका नेता एमालेमा फर्किसकेका छन् ।

उम्मेदवार को हुन्, कस्ता छन् ?

मजबुत रुपमा रहेको एमालेका कारण यहाँ कांग्रेस, माओवादी र फोरमले उम्मेदवारी दिन आनाकानी गरिरहेको थिए । चर्चित नेताहरु हार्ने विश्लेषण सहित कमजोर उम्मेदवारलाई अगाडि सारेका थिए ।

कांग्रेसले सरोज बस्नेतलाई अध्यक्षमा अगाडि सारेको थियो भने माओवादी र फोरमले उम्मेदवार तोकेको थिएनन । पछि तिनवटा दल मिलेर फोरमका रामसिं राईलाई उम्मेदवार घोषणा गरेका हु्न् ।

एमालेले युवा नेता ध्रुव राईलाई मैदानमा उतारेको छ । राई भोजपुर बहुमुखी क्याम्पसका दुई कार्यकाल स्ववियु सभापति हुन् भने अनेरास्ववियुमा सचिवालय सदस्य समेत बनिसकेका हुन् । ध्रुव राई इमान्दार, युवा र यस ठाउँका लोकप्रिय नेता हुन् ।

रामसिं राई एमालेको उपाध्यक्षबाट फोरम प्रवेश गरेका हुन् । हालसम्म सार्वजनिक पदधारण नगरेका इमान्दार नेताभित्र रामसिं राई मानिन्छन् ।

संयोग कस्तो भने दुबै एउटै वडाका स्थायी बासिन्दा हुन् । दुबै वडा नं ४ नागीबाट उम्मेदवार बनेका छन् । वडा नं ४ सबैभन्दा कम जनसंख्या भएको वडा हो ।

उपाध्यक्षमा एमालेले इन्द्रावती राई र गठबन्धनले कांग्रेसका सरोज बस्नेतलाई उम्मेदवार बनाएको छ । इन्द्रावती वडा नं ६ कोटकी हुन् भने सरोज वडा नं ४ कै हुन् ।

खासमा यो गाउँपालिकाको नाम ट्याम्के मैयुङ हो, तर निर्वाचन आयोगले मैयुङलाई मैयुम बनाएको छ । सम्भवत ः गाउँ कार्यपालिकाले यसलाई सच्चाउनेछ ।

कुन वडामा कति मतदाता ?

वडा नं १. १५५४
वडा नं २.१६२४
वडा नं ३. १००२
वडा नं ४. ८०८
वडा नं ५. १२१२
वडा नं ६. ९०१
वडा नं ७. १३१८
वडा नं ८. १२३१
वडा नं ९. १४८५

हतुवागढी गाउँपालिका

साविक छ वटा गाविस रानीबास, होम्ताङ, खैराङ, सिन्द्राङ, पात्लेपानी र हसनपुर गाविस मिलाएर हतुवागढी गाउँपालिका बनेको हो भने यो गाउँपालिका ९ वडामा विभाजन गरिएको छ ।

१४२.६१ वर्ग कि.मी क्षेत्रफलमा रहेको यो गाउँपालिकाको जनसंख्या २० हजार चार सय चार छ भने कुल मतदाता १२ हजार ६ सय ३४ छन् ।

दक्षिणी क्षेत्रको व्यापारिक केन्द्रको रुपमा रहेको यो गाउँपालिकाको केन्द्र घोरेटार बजार जति सुन्दर छ, त्यो भन्दा बढी यहाँको चुनावी तालमेलले वातावरण रोमाञ्चक बनाइदिएको छ ।

सम्भवत : नेपालमै सबैभन्दा बढी दलले चुनावी तालमेल गरेर यहाँ रेकर्ड नै बनाएका छन् । नेकपा एमालेका उम्मेदवार विरुद्ध जिल्लामा अस्तित्वमा रहेका सबै दल एकजुट भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, संघिय समाजवादी फोरम र खम्बुवान पार्टीले चुनावी तालमेल गरेका छन् । यस्तो मोर्चाबन्दिमा एमालेबाट जिल्ला पार्टी अध्यक्ष प्रेमकुमार राई चुनावी मैदानमा उत्रिएका छन् ।

तालमेलबाट कांग्रेसका मदन खुलाल अध्यक्षमा छन् भने उपाध्यक्षमा माओवादी केन्द्रबाट सुनिता किराती उठेकी छिन् । एमालेले उपाध्यक्षमा चन्द्रमा राईलाई उठाएको छ ।

मैदान कस्तो छ, उम्मेदवार कस्ता छन् ?

गठबन्धनमा रहेका चार दलको एउटै मात्र ध्यान एमाले हराउनु छ । तर गठबन्धन निरास छ । भोजपुरको क्षेत्र नं २ अन्र्तगत पर्ने यो गाउँपालिकाका अधिकांश गाविस एमालेको भोट बैंक नै हो ।

२०५४ सालको स्थानीय निकायको चुनावमा पाँच वटा गाविस एमालेले कब्जा गरेको थियो । ०७० को संविधान सभाको दोस्रो निर्वाचनमा शेरधन राईले अत्याधिक मत ल्याएर जितेको क्षेत्र हो यो ।

साविक हसनपुर गाविसमा स्वतन्त्र उम्मेदवार भूमिलाल राईले एमालेका उम्मेदवार हराएर अध्यक्ष बनेको थिए । भूमिलाल राई माओवादी केन्द्रका यस गाउँपालिका इन्चार्ज तथा सचिवालय सदस्य थिए । तर आइतबारबाट भूमिलाल पनि एमालेमा प्रवेश गरिसकेका छन् ।

गठबन्धनमा रहेका दलले एमाले उम्मेदवारलाई धक्का दिन सक्ने हेभिवेट उम्मेदवारको खोजीमा जुट्यो । दक्षिणी क्षेत्रका आर्दश व्यक्ति मानिने शिक्षासेवी इश्वरमान राईलाई अध्यक्ष उम्मेदवार बनाउने चार पार्टीले कार्ड फ्याँके । तर त्यो कार्ड काम लागेन ।

राई पछिको यस क्षेत्रका विकास प्रेमी व्यक्तित्वका रुपमा प्रेमकुमार राई परिचित छन्, जो एमाले जिल्ला पार्टी अध्यक्ष एंव गाउँपालिका अध्यक्षका उम्मेदवार हुन् ।

लामो समय सगरमाथा उच्च माविको शिक्षक हुँदै २०७० वैशाखबाट एमाले जिल्ला अध्यक्षको कार्यभार सम्हालेका राई इमान्दार व्यक्तिको रुपमा परिचित छन् ।

उनका प्रतिस्पर्धी मदन खुलाल पुराना कांग्रेसी नेता हुन् भने प्रेमकुमार राईका साथी समेत हुन् । राईले खुलाललाई मदन जी भनेर सम्बोधन गर्छन भने खुलालले प्रेम सर भनेर आदर गर्छन । कांग्रेसको राजनीतिसँगै खुलाल सानातिना ठेक्कापट्टा गर्दे आएका थिए ।

उठ्नै पर्ने बाध्यताले खुलाल उठेका छन् भने गठबन्धनले पनि यहाँ खासै आश गरेको छैन् । उपाध्यक्षमा माओवादीले झिनो आश राखेको छ । एमालेले चन्द्रमा राईलाई उपाध्यक्षको उम्मेदवार उठाएको छ । अध्यक्ष उपाध्यक्ष सहित गाउँपालिका जित्ने एमालेको दाबी छ ।

कुन वडामा कति मत ?

वडा नं १. १४९२
वडा नं २. १७११
वडा नं ३. ८४१
वडा नं ४.१७६७
वडानं ५.१५१५
वडा नं ६. १८९९
वडा नं ७. १०४९
वडा नं ८. ८८९
वडा नं ९. १४७१

 

प्रकाशित मिति: ३० जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्