कस्तो छ मदन पुरस्कार विजेताको ‘करोडौँ कस्तुरी’ ?


 


कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको ‘करोडौँ कस्तुरी’ उपन्यास बजारमा आएको छ ।Amar-neupane-karodau-kastoori

मदन पुरस्कार विजेता ‘सेतो धर्ती’ का लेखक अमर न्यौपानेको सो कृति फाइन प्रिन्टले प्रकाशन गरेको हो । कृतिले विद्यार्थीलाई कसरी पढाउने, उनीहरुको विशेष दख्खल कुन विषयमा छ, उनीहरुलाई कसरी त्यो विषयमा दक्ष बनाउने भन्ने मार्गनिर्देश गरेको छ । नपढेको मान्छेले पनि समाजमा केही गर्न सक्छ कस्तुरीले आफ्नो गुण नचिने पनि मान्छेले आफ्नो गुण चिनी समाजमा नाम, दाम र प्रतिष्ठा कमाउँछ भन्ने सन्देश पुस्तकले दिएको छ ।

शिक्षाविद् केदारभक्त माथेमा, कलाकार आचार्य र लेखक न्यौपानेलेसंयुक्त रुपमा सो उपन्यास सार्वजनिक गरेका हुन । सो अवसरमा शिक्षाविद् माथेमाले नेपाली साहित्यले पनि विश्व साहित्यसँगसँगै हिँड्न सक्ने क्षमता राख्ने बताउँदै अब नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवादन गर्ने बेला आइसकेको बताए ।

कलाकार आचार्यले मानिसले सधैँ आफ्नो गुणको पहिचान गर्न नसक्ने भएकाले कहिले साथी, कहिले अभिभावक त कहिले शिक्षकले त्यो गुण चिनाइदिनुपर्ने बताए । “उपन्यास पढ्दा मेरा आँखा रसाए ”उनले आफ्नो अनुभव सुनाउँदै भने ।

लेखक न्यौपानेले आफूले १२ वर्ष विद्यालयमा पढाउँदा विद्यार्थी विद्यालयभित्र छिर्दा त्यति उत्साही नहुने तर विद्यालयबाट छुट्टी भएर फर्कँदा खुसी हुने गरेको देखेपछि जिज्ञासा लागी सो पुस्तक लेख्ने प्रेरणा मिलेको बताए ।

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्