उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित


 


झापा,  असार ७

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको छ ।

बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराउनुभएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको हो । नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो । उम्मेदवार बन्नका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रावधान छ ।

त्यस्तै, जिल्लामा आठ नगरपालिका र सात गाउँपालिकाबाट तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएकामध्ये मङ्गलबार २३ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । भद्रपुर नगरपालिकामा चारजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, मेचीनगर, कनकाई र अर्जुनधारा नगरपालिकाबाट एक/एक, गौरादहमा दुई, शिवसताक्षीमा छ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । त्यस्तै, बाह्रदशी, झापा, कमल गाउँपालिकाबाट एक/एक र बुद्धशान्तिमा पाँचजनाले उम्मेद्वारी फिर्ता गरेको सम्बन्धित निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

बिर्तामोड तथा दमक नगरपालिका तथा हल्दिबारी र कचनकवल गाउँपालिकाबाट कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । निर्वाचन तालिकाअनुसार मङ्गलबार बिहान ८ देखि ११ बजे उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरिएको थियो । त्यस्तै, मङ्गलबार नै अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ । रासस

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्