नयाँ शक्ति र फोरम एकता हुँदै, कहिले हुँदैछ एकता घोषणा ?


 


काठमाडौं, साउन ५
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् । आजको कान्तिपुरमा खबर छ ।

एकीकृत पार्टीको नाम टुंगो लागिनसके पनि नयाँ शक्ति फोरम हुने सम्भावना बलियो छ । अध्यक्षमा उपेन्द्र यादव, भट्टराई अधिकार सम्पन्न सर्वोच्च नेता र अशोक राई वरिष्ठ नेता रहने सहमति भइसकेको दुवैतिरको उच्च स्रोतले दाबी ग‍र्यो । आर्य खस, जनजाति र मधेसी क्लस्टर मिलाएर नेतृत्व निर्माण हुने फोरम स्रोतको भनाइ छ । तर भट्टराई र यादवले कुराकानी चलिरहे पनि पद बाँडफाँड गर्ने तहसम्म पुगिनसकेको जिकिर गरे ।

भट्टराईनिकट स्रोतका अनुसार बिहीबार र शुक्रबार काठमाडौंमा नयाँ शक्ति उच्च तहको आकस्मिक बैठक यसै एकता एजेन्डाका लागि डाकिएको छ । पार्टी नेता केशव दाहालले भने नयाँ शक्तिभित्र एकता गर्ने र नगर्ने दुवै मत अहिले पनि बहसमा रहेको जानकारी दिए ।

 

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्