गोलेले तोडे गोसाँइकुण्ड नजाने परम्परा, के थियो नजाने कारण ?



रसुवा, साउन २४

गोलेथरका मानिसले गोसाँईथान जान हुँदैन भन्ने पुरानो परम्परा तोड्दै एक राष्ट्रसेवकले गोसाइँकुण्डको यात्रा सफलतासाथ सम्पन्न गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा नायब सुब्बास्तरको सचिव पदमा कार्यरत कृष्णबहादुर गोलेले श्रावण शुक्ल पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको नीलकण्ठ दहमा स्नान गरी फर्कनुभएको हो ।

सिन्धुपाल्चोक जिल्ला साविक गुम्बा गाविसमा जन्म भई हाल मकवानपुर जिल्ला हेटौँडा नगरपालिका वडा नं ६, चौघडा स्थायी घर भएका कृष्णबहादुर गोलेले यात्राको बारेमा भन्नुभयो, “धार्मिक आस्थाभन्दा पनि प्राकृतिक सौन्दर्यको छटा अवलोकन गर्ने प्रवल इच्छा पूरा गर्न श्रावण शुक्ल पूर्णिमाको अवसर पारी  ६ जना साथीसँग गोसाइँकुण्ड पुगेँ । मेरा पिता ज्ञानबहादुर गोलेले भन्नुभएको थियो – ए छोरा, तिमी गोसाइँकुण्ड नजाऊ है, हामी गोले थरका सन्तान कोही पनि जानु हुँदैन, उपदेश यस्तो पहिल्यैदेखिको हो ।”

“धेरै टाढाटाढाका मानिस आउँछन्, म गोसाइँकुण्ड गाउँपालिकाकै सचिव भएर काम गरिरहेको मान्छे, गोसाइँकुण्ड जाने इच्छा बहुतै थियो, घरमा पिताजीलाई कुनै जानकारी नदिई आफ्नै शुरले आरामपूर्वक पुगेर आएँ, तर हेर्नै हुँदैन भनेको भैरवकुण्ड जाँदाजाँदै बाटोबाटै नजर पुगिहाल्यो,” उहाँले भन्नुभयो ।

सत्ययुगदेखि नै गोले थरका मान्छेले भैरवकुण्ड हेर्न नहुने भनाइ थियो, आफूले पनि गोसाइँकुण्डतर्फ जाँदै गरेका गोले थरका व्यक्ति नभेटेको बताउँदै रसुवा जिल्लाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले कृष्णबहादुर गोलेको गोसाइँथान सफल यात्राले गोले थरका मानिसमा परेको पुरानो अन्धविश्वास हटेको बताउनुभयो ।

यस्तै, गोले थरका मानिसलाई भैरवकुण्डको मात्र डर हो, जाँदाजाँदै बाटोबाटै देखिने र ककरो भिरमा हिँड्दा जतिखेर पनि देखिने भएकाले गोले थरका व्यक्ति गोसाइँकुण्डको यात्रामा कुनै पनि नभेटिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ र पुरोहित टंकप्रसाद ढकालले बताउनुभयो ।

गोले थरी गोसाइँकुण्ड नजानुको कारण 

गोसाइँकुण्ड र भैरवकुण्ड दुई तीनसय मिटरको मात्र दूरीमा तल माथि पर्ने र किंवदन्तीअनुसार सत्ययुगमा आफ्नी श्रीमतीसमेत साथमा लिई तान्त्रिक विधिका साथ भैरवकुण्डको अधिपति जमाउन ढ्यांग्रो बजाउँदै कुण्डको डिलमा गोलेझाँक्री पुगी श्रीमतीलाई भने, “तिमीले आँखा चिम्म गरेर यो डिलमा बसी नछोडीकन ढ्यांग्रो बजाइराख र म बाहिर निस्किएपछि अक्षताले मेरो शरीरमा हिर्काउनु ।”

यति भनेर कुण्डभित्र पसेर केहीबेरको भीषण लडाइँपश्चात् गोले र भैरव दुई सर्पको रुपमा बाहिर पछारिन आउँदा झाँक्रीनीले डराई ढ्यांग्रो छोडेर भाग्दा भैरवको विजय भई भैरवकुण्डभित्र गोले झाँक्रीको देहावसान भएकाले गोले थरका व्यक्त गोसाँइकुण्ड तीर्थ नजाने गरेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News