एक वर्षमा २ हजार ३ सय प्रहरी कारबाहीमा, हरेक दिन तीन जनाले दिन्छन् राजीनामा


 


काठमाडौं, साउन २७
नेपाल प्रहरीमा एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ मा दुई एसएसपी, एक एसपी, दुई डिएसपी र २७ जना इन्स्पेक्टर विभागीय कारबाहीमा परेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

कारबाहीमा पर्नेमध्ये तीन सय ४६ जनालाई जागिरबाट हटाइएको छ । जागिरबाट हटाइएकामा तीनजना इन्स्पेक्टरसमेत छन् । दुई इन्स्पेक्टरसहित २४ जनालाई सेवाबाट हटाइएको छ । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गरेको छ ।

कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरैले नसिहत पाएका छन् । एक हजार दुई सय ६ जनालाई कारबाहीस्वरूप नसिहत दिइएको छ । एक एसपी, दुई डिएसपी, १८ इन्स्पेक्टर, ४६ सइ, एक सय १६ असइ, दुई सय ६२ प्रहरी हवल्दार, सात सय ५४ जवान र आठजना कार्यालय सहयोगी छन् ।

नसिहत पाएका प्रहरीहरू बढुवामा पछि पर्दछन् । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही गर्ने प्रहरीहरू कारबाहीमा परेका हुन् ।

कारबाही परेकाहरुमध्ये एक सय ५१ जनाको ग्रेड रोक्का, २९ जनाको प्रतिकूल राय तथा ३८ जनाको ग्रेड घटुवा गरिएको छ ।

दुई सय तीनजनाको पदोन्नति रोक्का, २६ जनाको पद घटुवा, दुई सय पाँचजनाको तल्लो स्केलमा घटुवा तथा एक सय ५३ जना अनुसन्धानका लागि निलम्बनमा परेका छन् ।

आव ०७२र७३ मा एक हजार दुई सय ७२ प्रहरी विभागीय कारबाहीमा परेका थिए । तर, पछिल्लो वर्ष कारबाहीमा पर्नेको संख्या झन्डै दोब्बर पुगेको छ । कारबाही बढ्नुले संगठनभित्र मौलाएको भ्रष्टाचारलाई प्रतिबिम्बित गर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

आव ०७३/७४ मा देशमा अपराध पनि अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत बढेको थियो । नेपाल प्रहरीमा ७२ हजार सात सय १९ प्रहरी छन् । जसमध्ये करिब ३ प्रतिशत प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरीमा जागिर छाड्नेहरूको क्रम पनि त्यतिकै छन् । यो क्रम झन बढ्दै गएको छ । हरेक दिन औसत तीनजना प्रहरीले राजीनामा दिने गरेका छन् । गत आवमा नौ सय ८८ जनाले राजीनामा दिएका छन् । प्रहरीमा पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने प्रवृत्ति बढ्दै गएको छ ।

खासगरी तल्लो तहका प्रहरीहरू राजीनामा दिने गरेका छन् । राजीनामा दिएपछि पेन्सन आउने र अन्यत्र काम गरेर धेरै कमाइने भएकाले उनीहरूले राजीनामा दिने गरेका छन् ।

कतिपय त राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने गरेका छन् । ३० वर्षे सेवाहदका कारण पनि धेरैले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिएर अन्य पेसा अँगाल्ने गरेका छन् ।

प्रकाशित मिति: २८ श्रावण २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्