जागिर नपाएपछि पाइलटले खोले पेट्रोलपम्प


 


काठमाडौं, साउन ३०

अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन्। आजको अन्नपूर्णमा खबर छ।

नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन्। पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे ।

सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्डयन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन पाएनन् ।

अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कदा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स बन्द प्रायः थियो । नेपाल एयरलाइन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् ।

‘जागिरको खोजिमा लागेँ, तरु पाइनँ,’ अभय भन्छन्,‘ नेपाल एयरलाइन्स बन्द थियो। बुद्ध र यतीमा जागिर पाइएन।’ मागभन्दा धेरै पाइलट उत्पादन भएपछि जागिर नपाएको उनको भनाई छ।

पाइलटको लाइसेन्स अवधि ६ महिनामात्रै हुने गरेको छ। जागिर खोज्दा खोज्दै उनको ६ महिना अवधि सकिहाल्यो । आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई फ्रस्टेसनसमेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले ।

६ वर्षदेखि उनले नेपालगञ्जको वीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्