न रहे बाआमा, न रह्यो घर : भाई बर्बराउने, दिदी टोलाइरहेन


 



सुनसरी, भदौ १
एघार वर्षे निशान राई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र वर्षीया कमला एकोहोरो टोलाइरहन्छिन् । भाइ निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले इटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरू बेसहारा छन् । आजको कान्तिपुरमा खबर छ ।

एक्कासि राति गाउँमा बाढी पसेपछि अरू बगे, निशान र कमला घर नजिकको रूख समातेर बच्न सफल भए । घर, बाआमा र भाइलाई बूढीखोलाबाट आएको बाढीले बगाएपछि उनीहरूको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरू सानीआमा सीतासन्ध्या राईको घर इटहरीमा छन् ।

बाढीले बेपत्ता निमेषको गत शनिबार जन्मदिन मनाउने तयारी थियो । त्यसका लागि बाबु राजकुमारले तयारी गरिसकेका थिए । तर बाढीले त्यो सबै चकनाचुर पारिदियो । ‘म र भाइ घर भत्केपछि रूख समाएर बाँच्यौं’, कमलाले भनिन्, ‘तर बाबा, आमा र भाइलाई बगाएर लग्यो ।’ दुवै बालबालिका अन्योलमा छन् । ‘घर पनि छैन, बाआमा नि छैनन्, कसरी त्यो ठाउँमा जानु रु’ कमलाले भक्कानिँदै भनिन् ।

कमला र निशान राति सुत्न सक्दैनन् । निशान राति ‘बाआमा, भाइ देखेँ, बाआमालाई घाउ लागेको छ’, भन्दै बर्बराउने गरेको सानीआमा सीतासन्ध्याले सुनाइन् । ‘यी दुई दिदीभाइलाई सम्हाल्न गाह्रो भइरहेको छ,’ उनले भनिन् । आमा आशाको शव सोमबार मोरङको सुन्दरहरैंचामा बूढीखोलामा फेला परेको थियो ।

उनको सद्गत गरे पनि काजकिरिया सुरु भएको छैन । राजकुमार र निमेष अझै बेपत्ता छन् । ‘भिनाजु राजकुमार र भतिज निमेषलाई बाढीले बेपत्ता पारेकाले काजकिरिया भएको छैन,’ सीतासन्ध्याले कान्तिपुरसँग भनिन् । हालसम्म राई परिवारलाई इटहरी उपमहानगरपालिकाले किरिया खर्च १० हजार रुपैयाँ दिएको छ । अरू संघसंस्थाले सामान्य सहयोग गरेका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्