प्रदेश र संघीय निर्वाचन एकै साथ : दुई चरणमा गरिने, कहाँ कहिले गर्ने प्रस्ताव ?


 



काठमाडौं, भदौ २
प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक दुई चरणमा गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले र आयोगका पदाधिकारीबीचको बैठकमा यस्तो सहमति भएको हो । अाजकाे अन्नपूर्णमा खबर छ ।

निर्वाचन आयोगले हिमाली र उच्च पहाडी जिल्लामा मंसिर ४ गते र अन्य जिल्लामा मंसिर २१ गते निर्वाचन गर्न प्रस्ताव राख्योु, एमाले संसदीय दलका उपनेता सुुवास नेम्बाङले बिहीबार राति अन्नपूर्णसँग भने ।

नेता नेम्बाङका अनुसार दुई चरणमा मतदान हुने भए पनि मतगणना भने दोस्रो मतदान सकिएपछि मात्र सुरु गर्न आयोगले प्रस्ताव गरेको छ । एकै दिन दुवै तहको निर्वाचन गराउन आयोगले भदौ ५ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभासम्बन्धी कानुन पारित गर्नुपर्ने र भदौ १५ गतेभित्र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पाउनुपर्ने सर्त राखेको छ ।

व्यवस्थापिका–संसद् बैठक आइतबार डाकिएकाले त्यसअगावै राज्यव्यवस्था समितिमा रहेका ती विधेयकमा तीनै दलको सहमति जुटाइने भएको छ । सहमतिका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रका तीन÷तीन प्रतिनिधि, तीनै दलका प्रमुख सचेतक र राज्यव्यवस्था समितिका प्रतिनिधि बसेर शुक्रबारदेखि नै आवश्यक गृहकार्य गर्नेछन् ।

सहमतिका साथ आएको विधेयकलाई सम्भवतः आइतबार बस्ने संसद् बैठकबाट पारित गरिने सहमति भएको छ, एमाले नेता नेम्वाङले भने ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्