कोशी बाँध फुटेको हल्ला, के हो यथार्त ?


 


इनरुवा, भदौ ३

कोशी फुट्न लाग्यो भन्ने हल्ला निराधार रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताउनुभएको छ ।

बिहीबार राति एक्कासि कोशी बाँध फुट्यो भन्ने हल्ला फैलिएपछि त्यस्तो हल्लाको पछाडि नलाग्न प्रमुख जिल्ला अधिकारी पराजुलीले आग्रह गर्नुभयो । उहाँले कोशीमा कहीँ कतै कुनै खतरा नदेखिएकाले हल्लाको पछि नलागी आफ्नो नियमित काम गर्न जिल्लावासीलाई आग्रह गर्नुभयो ।

आफूसहित जिल्लाका सबै सरोकारवाला निकायले कोशीको स्पर तथा बाँध अनुगमन गर्ने कामलाई निरन्तरता दिएको बताउँदै कोशीमा अहिलेको अवस्थामा कुनै खतरा नरहेको बताउनुभयो । उहाँले कोशीको सबै तटबन्ध सुरक्षित रहेकाले कोशी फुट्ने कुरा निराधार भएको बताउनुभयो ।

अहिले कोशीमा पानीको बहाव एक लाख ७० हजार ६१५ क्युसेक प्रतिसेकेण्ड रहेको र २२ ढोका खोलिएको छ । कोशीको विषयमा भ्रामक हल्ला फैलाउनेको खोजी थालिएको बताउँदै त्यस्ता व्यक्तिलाई कानूनी कारबाही गर्नेसमेत बताउनुभयो ।

कोशी फुट्यो भनेर झुटो हल्ला फैलाउनेको पत्ता लगाई कडा कारबाही गरिने सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बताउनुभयो । रासस

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्