बाढीले बज्रपात : १४ वर्षमा बिहे, २० वर्षमै विधुवा ! अाश्रित परिवारमा सन्नाटा


 



चितवन, भदौ ४
खहरे खोलाको बाढीले श्रीमानको ज्यान लिएपछि तारा चेपाङ २० वर्षकै उमेरमा विधुवा बनेकी छिन् । उनले १४ वर्षकै उमेरमा गाउँकै कमल चेपाङसँग विवाह गरेकी थिइन् । जतिखेर कमल पनि १६ वर्षका मात्र थिए ।

उनीहरूका एक छोरी र एक छोरा जन्मिए । कलिलै उमेरमा तारामाथि ठूलो बज्रपात परेको छ । पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा र बूढा भएका बा–आमालाई पाल्दै आएका कमल केही दिनअघि खहरे खोलाको भेलमा परे । अन्ततः उनको जीवन नै समाप्त भयो ।

जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका–३ ओरेकमा घरनजिकै रहेको बारबाङ खोलाले बगाउँदा कमलको मृत्यु भएको थियो । शुक्रबार खोलाले बगाएको उनको शव शनिबार बिहान मात्र फेला परेको थियो । कमलको घर पृथ्वी राजमार्गको कुरिनघाटबाट दुई घण्टा पैदल हिँडेर पुग्न सकिन्छ ।

कमल ज्याला–मजदुरी गरेर घर धान्दै आएका थिए । उनीबाहेकका पाँचजनाको परिवार आश्रित सदस्य हुन् । उनको मृत्युले परिवारमा ठूलो विपत्ति आइपरेको छ । ०७२ सालको भूकम्पले क्षति पुगेको यस घरमा पुनः दुई वर्षको अन्तरालमा अर्को प्राकृतिक विपत्तिले दुखमाथि दुःख थपिदियो ।

‘अब के–कसरी जीवन धान्ने केही सोच्न सकेका छैनौँ,’ ताराले भनिन्, ‘संसारमा आज सबैभन्दा पीडित परिवार नै हामी हौँ कि जस्तो लागिरहेको छ ।’ बालबच्चाको लालनपालन र शिक्षादीक्षा के–कसरी गर्ने भन्नेबारेमा आफूहरू चिन्तित बनेको ताराले बताइन् । ताराको बुबा वीरबहादुर चेपाङले दुःखको यस घडीमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

पहाडको भिरालोमा भूकम्पले भत्काएको ढुंगामाटोको घर छ । खरले छाएको घर निकै पुरानो छ । जताततैबाट पानी चुहिन्छ । २२ वर्षसम्म कानमै सुसाउँदै बगेको खोलाले कमलको ज्यान लियो । घरैछेउको खोला के बढ्यो होला र भन्दै तर्ने क्रममा घटना भएको स्थानीय लालबहादुर चेपाङले बताए ।

चितवनमा गत साउन २८ र २९ साउनमा गएको बाढी र पहिरोका कारण पाँचजनाको ज्यान गयो । उनीहरूको राहतका लागि गृह मन्त्रालयले सात लाख रुपैयाँ जिल्ला प्रशासन चितवनमा पठाएको छ । तर, पीडितको हातमा अहिलेसम्म पुग्न सकेको छैन ।

पीडित परिवारलाई गैरसरकारी निकायबाट सहयोग भइरहेको छ । उद्यमशील महिला जागरण केन्द्र इच्छाकामनाले आर्थिक सहयोग गरेको छ । त्यस्तै, एमाले इच्छाकामना गाउँपालिका कमिटीले पनि १० हजार सहयोग गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्