राप्रपा प्रजातान्त्रिकले पुर्‍यायो केन्द्रीय सदस्य र सांसद, को-को थपिए ?


 


काठमाडौं, भदौ ४
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ताका लागि पशुपतिशमशेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याएको छ । राप्रपा प्रजातान्त्रिकले २२ साउनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुरूप आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद संख्या आफूहरूले पुर्‍याएको राप्रपा प्रजातान्त्रिक प्रचार समिति संयोजक सुनील थापाले जानकारी दिए । ‘हामीले दल दर्ताका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याइसक्याैँ,’ थापाले नयाँ पत्रिकासँग भने, ‘त्यो जानकारी आइतबार निर्वाचन आयोगमा गराउँछौँ ।’

निर्वाचन आयोगको अभिलेखमा राप्रपा केन्द्रीय समितिको संख्या १५६ सदस्यीय छ । त्यसको ४० प्रतिशत पुर्‍याउन ६२ सदस्य आवश्यक पर्नेमा आफूहरूसँग ६४ जना पुगिसकेको थापाको दाबी छ । आयोगले राप्रपा प्रजातान्त्रिकलाई आइतबार (आज) दल दर्ताका लागि आवश्यक पर्ने सनाखतसहित उपस्थित हुन निर्देशन दिएको छ ।

आयोगका सहसचिव सुशील कोइराला सहसचिव र सहन्यायाधिवक्ता घनश्याम ओझाले ५६ केन्द्रीय सदस्यको हस्तक्षर सनाखत गरिसकेको थापाले बताए । सो सनाखत २९ साउनमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई पठाएको पत्रले पुष्टि छ । त्यस्तै, सनाखत गर्न छुटेका पाँचजनाले आयोगमा आफैँ उपस्थित भएर राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेका लिखित निवेदन दिएका छन् । विदेशमा रहेका तीन केन्द्रीय सदस्यले आयोगलाई इमेल गरेर आफूहरू राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेको जनाएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ ।

आयोगमा लिखित निवेदन दिने ६ जना
मोहनप्रसाद यादव, धर्मराज जोशी, रविन चाम्लिङ, रेखा थापा, गिरिधारीप्रसाद चौधरी, रामेश्वर थापा

इमेलमा सहमतिपत्र पठाउने तीनजना
रामकृष्ण भट्टराई, रामकुमार सुब्बा, आङनिमा शेर्पा

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्