संविधान संशोधनमा दुई तिहाइ पुग्छ त ? यसरी हुँदैछ दाैडधुप


 


काठमाडाैं, भदौ ५

घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ ।

सत्तापक्ष संशोधनको पक्षमा दुई तिहाइ जुटाइसकेको दाबीसहित सोमबार मतदानमा लैजाने तयारीमा छ भने एमालेसहित विपक्षी दल सत्तापक्षको सेखी झार्ने रणनीतिमा छन् । दुई तिहाइको खेलमा संशोधनको पक्ष÷विपक्षमा खुलिनसकेका साना दलको ११ मत तान्न दलको दौडधूप सुरु भएको छ ।

सरकारले मधेसकेन्द्रित दल र राप्रपा प्रजातान्त्रिकसहितको समर्थनमा विधेयक पारित हुने निक्र्योलसहित विपक्षी दलसँग सहमतिविनै संसद्को सोमबारको बैठकमा निर्णयार्थ पेस गर्ने तयारी गरेको हो ।

राजपामा आबद्ध सांसद संविधान घोषणा हुँदा र पहिलो संशोधन हुँदा बहिष्कारमा थिए । उनीहरूकै नेतृत्वमा भएको १३ महिना लामो मधेस आन्दोलनकै बेला मुलुकले भारतीय नाकाबन्दीको समेत सामना गर्नुपरेको थियो ।

मधेसकेन्द्रित दललाई राजनीतिको मूल प्रवाहमा ल्याउन, संविधानलाई सर्वसम्मत बनाउन र असोज २ हुने प्रदेश नम्बर २ को निर्वाचनमा उनीहरूको सहभागिता सुनिश्चित गर्न विधेयक ल्याएको सत्तापक्षले दाबी गर्दै आएको छ ।

कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको सहकार्यले निरन्तरता नपाउँदा संविधान राजनीतिक रूपमा हल्का बन्न लागेको विश्लेषण संविधानका जानकार तथा संविधानमा हस्ताक्षरकर्ता सांसदहरूले नै गर्न थालेका छन् । संशोधन प्रस्ताव अघि बढाउनुअघि सरकारले प्रमुख प्रतिपक्षी एमालेलगायत विपक्षीसँग निर्णायक वार्ता नगरेको आरोप ती सांसदले लगाएका छन् ।

एमालेसहितका विपक्षी दलले सरकारले प्रजातान्त्रिक आन्दोलन, ०६२÷६३ देखि पहिलो संशोधनसम्मको सहकार्य र सहमतिविपरीत संशोधनमा मतदान गराउन लागेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । उनीहरूले प्रस्तावको विपक्षमा मतदान गर्ने बताइसकेका छन् । अाजको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्