संशोधन विधेयक असफल, दुई तिहाइका लागि कति मत पुगेन ?


 


काठमाडौं, भदौ ६

सत्तारुढ र विपक्षी दलबीच लामो खिचातानीपछि सोमबार संसद्मा मतदान प्रक्रियामा गएको संविधान संशोधन विधेयक अस्वीकृत भएको छ ।

संसद्मा सोमबार साँझ भएको मतदानमा विधेयकको पक्षमा ३४७ मत मात्रै परेको थियो । विधेयक पारित गर्न आवश्यक पर्ने दुई तिहाइ मतका लागि ४८ मत नपुगेपछि सभामुख ओनसरी घर्तीमगरले अस्वीकृत भएको घोषणा गरेकी थिइन् । विधेयकको विपक्षमा २०६ मत पर्‍यो । कुल ५९२ सांसदमध्ये मतदानको समयमा ५५३ जना मात्रै उपस्थित भएका थिए । अाजको अन्नपूर्णमा खबर छ ।

सभामुखले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गर्दा प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाका सांसदले लामो समयसम्म टेबुल ठोकेर स्वागत गरेका थिए । संशोधन विधेयकमा सत्ता गठबन्धनका चीनकाजी श्रेष्ठको मूल संशोधनसहित कुल ५० वटा संशोधन परेकोमा ४९ वटा संशोधनलाई ध्वनिमतका आधारमा बुहमतले अस्वीकृत गरिएको थियो । उक्त प्रस्ताव साउन ३२ गते बसेको संसद् बैठकमा पेस भएको थियो ।

मधेसकेन्द्रित दलको माग सम्बोधनका लागि भन्दै सरकारले चैत २३ गते संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाइ नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक ‘पास-फेल जे भए पनि चुनावमा सहभागी हुन राजपा सहमत’ र प्रमुख प्रतिपक्षी दल एमालेले पनि मतदान प्रक्रिया नरोक्ने सहमति गरेपछि मतदानमा लगिएको थियो ।

जेठ २३ गते प्रधानमन्त्रीको पदमा शेरबहादुर देउवालाई निर्वाचित हुँदा ३३८ मत पाएका थिए । त्यसबेला संसद्को कुल संख्या ५५८ थियो । राप्रपा (थापा) का पक्षबाट १९ जना सांसदले मतदान गरेका थिए ।

संशोधन विधेयकका पक्षमा कांग्रेसका २०७, माओवादी ८२, राजपाका २५, संघीय समाजवादी फोरम नेपालका १५, नेपाल फोरम लोकतान्त्रिकका १७, नेकपा संयुक्तका तीन र केही साना दलका सांसदले मतदान गरेका थिए । संशोधनको विपक्षमा एमालेका १८०, राप्रपाका १९, नेमकिपाका ४, राजमोका तीन र साना दलका केही मत परेको थियो ।

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्