मेडिकल कलेजको सम्बन्धन : यसरी बनाइयो फर्जी प्रतिवेदन


 



काठमाडौं, भाद्र ६

त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. करविरनाथ योगीको संयोजकत्वमा गठित समितिले सम्बन्धनकै लागि प्रस्तावित कलेजमा नभएका पूर्वाधार र सुविधासमेत रहेको उल्लेख गरी झूटो प्रतिवेदन तयार गरेको हो । यही झूटो विवरणका आधारमा त्रिविले साउन १२ मा सम्बन्धन दिएको हो । अाजको कान्तिपुरमा खबर छ ।

त्रिविले डा. योगी संयोजकत्वमा ६ सदस्यीय निरीक्षण टोली गठन गरेको थियो । टोलीले २०७० कात्तिक २५ र २६ गते निरीक्षण गरी २७ गते बुझाएको प्रतिवेदनमा अस्पताल तथा मेडिकल कलेजमा सबै सुविधा रहेको उल्लेख छ ।

आईओएमले नै निरीक्षण टोली खटाउनुपर्नेमा तत्कालीन विवादित उपकुलपति हीराबहादुर महर्जनले नै अधिकार केन्द्रीकृत गरी केन्द्रीय कार्यालयबाट निरीक्षण टोली गठन गरी खटाएका थिए । ‘उक्त प्रतिवेदन सफेद झूटको प्रमाण हो,’ आईओएम उच्च स्रोतले कान्तिपुरसित भन्यो ।

प्रतिवेदनमा के छ ?
त्रिवि केन्द्रीय कार्यालय उच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनको प्रतिलिपिमा उल्लेखित विवरण हेर्दा चार वर्षअघि उल्लेख गरिएको भौतिक तथा शैक्षिक पूर्वाधार हालसम्म पनि प्रस्तावित कलेजले पूरा नगरेको देखिन्छ । आवासीय प्रयोजनका लागि बनाएको भवनमा अस्पताल सञ्चालन गरिएको छ । निरीक्षण टोली यस विषयमा मौन छ । अस्पताल सञ्चालन गर्न भूकम्पप्रतिरोधी भवन आवश्यक हुन्छ । यस्ता मापदण्ड पूरा नगरे पनि टोलीले मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त भएको प्रतिवेदन दिएको थियो ।

निरीक्षण टोलीले ‘कलेजको जग्गा एक सय रोपनी’ रहेको झूटो विवरण समावेश गरेको छ । घट्टेकुलोको भवन सेरोफेरोको जग्गा २ रोपनी १० आना १ पैसा ३ दाम मात्रै छ । जग्गाको विवरणमा निरीक्षण टोलीले ‘१० किलोमिटरभित्र दुई ठाउँमा सय रोपनी जग्गा रहेको’ भनी उल्लेख गरेको छ । जबकि जग्गा रहेको भनिएको ललितपुरको लामाटार घट्टेकुलोदेखि १४ किलोमिटर सडक दूरीमा छ ।

यो तथ्यले पनि निरीक्षण टोलीको प्रतिवेदन झूटो भएको पुष्टि हुन्छ । प्रस्तावित मेडिकल कलेजमा बेसिक साइन्सतर्फ सातवटा र क्लिनिकल साइन्समा १४ विभाग रहेको भनी प्रतिवेदन तयार गरिएको थियो । तर कान्तिपुरले आइतबार स्थलगत रिपोर्टिङ गर्दा अस्पतालमा यी विभाग थिएनन् । निरीक्षण प्रतिवेदनका विवरणमा विश्वास गर्ने हो भने अस्पतालले विद्यार्थीका लागि घर भाडामा लिएको भनी उल्लेख गरेको छ । तर काठमाडौं घट्टेकुलो वरपर कुनै पनि घर कलेजले भाडामा नलिएको स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिवेदनमा छात्र र छात्राका लागि सय बेडको होस्टेल रहेको झूटो विवरण समावेश गरिएको छ । कुनै जिम्मेवारी पाएका राष्ट्रसेवक कर्मचारीले यथार्थभन्दा फरक या झूटो प्रतिवेदन दिएको घटना भ्रष्टाचारजन्य क्रियाकलाप हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता जीवनाथ कोइराला बताउँछन् ।

‘यस्ता उजुरी आयोगमा परेमा अख्तियारले हेर्न र आवश्यक कारबाही गर्न सक्छ,’ कोइरालाले कान्तिपुरसित भने, ‘झूटो प्रतिवेदन बुझाएको घटनामा यसअघि पनि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेका उदाहरण छन् ।’ काठमाडौं नेसनल मेडिकल कलेजको हकमा पनि निरीक्षण टोलीले यथार्थभन्दा फरक र झूटो विवरण तयार पारेको देखिन्छ ।

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्