देउवाको भारत भ्रमण : यस्तो छ मोदीको स्वार्थ, सहयोगको बदलामा सहयोग माग्ने तयारी


 


काठमाडौं, भदौ ७

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय तयारी छ । एक्लाएक्लै भनिए पनि छलफलमा भारतका उच्च सरकारी अधिकारी प्रधानमन्त्रीको साथमा रहने यहाँको परम्परा छ । अाजको नयाँ पत्रिकामा खबर छ ।

पाँचदिने राजकीय भ्रमणका क्रममा देउवा अाज (बुधबार) नयाँदिल्ली जाँदैछन् । उच्च कूटनीतिक स्रोतका अनुसार १९५० को सन्धिको धारा २ अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई दोक्लाम घटनाबारे जानकारी दिने गरी ‘टकिङ प्वाइन्ट’ बनाउने विदेश मन्त्रालयले तयारी गरिरहेको छ । सन्धिको धारा २ मा भनिएको छ, ‘दुई सरकारले एकअर्काको छिमेकीहरुबाट उनीहरुमा कुनै गम्भीर असमझदारी वा खतराका अवस्थाबाट हुने मित्रवत सम्बन्धको उल्लंघनबारे एकआपसलाई जानकारी दिनेछन् ।’ यसबारे भारत पनि नरिसाउने तर नेपाल तटस्थ रहेको सन्देश पनि दिने गरी तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

भारतको नेपालबाहेक भूटान, अफगास्थिान, पाकिस्तान, बंगलादेश, श्रीलंका मालदिभ्ससँग सीमा जोडिएको छ । भारतीय विदेश मन्त्रालयको नेपाल नीतिबारे जानकार तथा भारतीय रक्षा अध्ययन एवं विश्लेषण संस्थानका नेपाल मामिला अध्येता डा निहार नायकले भारतले दोक्लाम बिषयमा छलफल गर्ने जानकारी पाएको बताए । ‘मैले पाएको जानकारी अनुसार दुई प्रधानमन्त्रीको प्राइभेट मिटिङमा यो बिषयमा कुराकानी हुन्छ र प्रधानमन्त्री मोदीले देउवासँग छलफल गर्नुहुन्छ’ नायकले मंगलवार नयाँ पत्रिकासँग भने । भारतले यसरी सूचना दिएमा यो पहिलो घटना हुने जानकारहरु बताउँछन् ।

नेपाल भारत सम्बन्धका अर्का जानकार सेनाका पूर्व मेजर जनरल अशोक मेहताले पनि दोक्लाम घटनामा भारतले नेपालको सद्भाव खोजेको बताए । ‘भारतीय सेनामा नेपालीहरु कार्यरत छन्, उनीहरुले सीमावर्ती क्षेत्रमा भारतका लागि काम गरिरहेका छन्’ मेहताले नयाँ पत्रिकासँग भने, ‘मेरो जानकारीमा यसपटकको भ्रमणमा छलफल हुन्छ ।’ तर, नेपाल तटस्थ रहेमा भारतलाई कुनै हानी भने नहुने मेहताको भनाई छ । अर्का जानकार नायकले पनि उपप्रधानमन्त्री एवं परराष्टमन्त्री कृष्णबहादुर महराले यसअघि नै भने अनुसार नेपालले अपनाउने तटस्थ नीतिबाट भारतलाई फाइदा नै हुने बताए ।

नेपाल भारत सम्बन्धका जानकार एवं बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदोरियाले पनि सबैभन्दा नजिकका छिमेकीका रुपमा भारतले चीनसँग भएको द्धन्द्धको बिषयमा सद्भाव माग्ने बताए । ‘भारतले नेपालसँग मात्र होइन, समग्र छिमेकीसँग सद्भाव र ऐक्यवद्धता मागिरहेको छ, समर्थन पनि आइररहेको छ’ भदोेरियाले भने, ‘तर नेपालको आफ्नो सार्वभौम निर्णय लिने अधिकारलाई पनि भारतले उत्तिकै सम्मान गर्नुपर्छ, गर्छ । नेपाल तटस्थ रहेर भारतलाई अप्ठेरो हुँदैन ।’

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्