के–के सुविधा पाउँछन् राज्यमन्त्रीले ?


 


काठमाडौं, भदौ ७

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका छन् ।

के–के सुविधा पाउँछन् राज्यमन्त्रीले ?
राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ । ती अधिकारीका अनुसार पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन् । यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास मन्त्रालयले घर भाडामा खोजिदिएर राखिदिने गरेको छ । सरकारले भाडाबापत मन्त्रीलाई मासिक ५० हजार र राज्यमन्त्रीलाई ४० हजार रुपैयाँ दिने गरेको छ । सहरी विकास मन्त्रालयले मन्त्रीहरूलाई भाडाको घरमा फर्निसिङका लागि एकमुष्ट २ लाख रुपैयाँ दिनुका साथै सुरक्षा पोस्ट र गार्ड घरसमेत निर्माण गरिदिने गरेको छ । भाडाको घरमा बनाइने सुरक्षा पोस्ट र गार्ड घर निर्माणका लागि मन्त्रालयले छुट्टै खर्च गर्नुपर्ने ती अधिकारीले बताए ।

सरकारले प्रत्येक राज्यमन्त्रीको स्वकीय सचिवालयका लागि उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, दुई चालक र दुई कार्यालय सहयोगीका लागि तलबसुविधा उपलब्ध गराउँछ । एउटा राज्यमन्त्रीको स्वकीय सचिवालयका कर्मचारी लागि मात्र मासिक ३ लाख रुपैयाँभन्दा खर्च हुन्छ । राज्यमन्त्रीहरूले गृह मन्त्रालयबाट एउटा, आफ्नो मन्त्रालयबाट एउटा र स्वकीय सचिवका लागि एउटा गरी कम्तीमा तीनवटा गाडी लाने गर्छन् । कानुनी रूपमा भने राज्यमन्त्रीले एउटा मात्र गाडी पाउँछन् ।

अनधिकृत रूपमा प्रयोग गरिने तीनवटा गाडीका लागि चालक, इन्धन, मोबिल र मर्मत खर्चका नाममा महिनाको डेढ लाखभन्दा बढी खर्च हुने जानकारीसमेत ती सरकारी अधिकारीले दिए । मन्त्रीहरूले बिजुली, पानी, टेलिफोनको खर्च बिलबमोजिम लिने गर्छन् । त्यो खर्च नै प्रतिमन्त्री प्रतिमहिना २० हजार रुपैयाँभन्दा बढी हुने गरेको छ ।

प्रधानमन्त्री देउवासँग अझै चार मन्त्रालय छन् । ती मन्त्रालयमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र साना पार्टीका नेतालाई मन्त्री बनाउने देउवाको तयारी छ । तिनमा ४ मन्त्री र ४ राज्यमन्त्री थपिए मन्त्रिपरिषद् ५८ सदस्यीय हुनेछ । त्यति मन्त्री थपिएमा मासिक ४ करोड रुपैयाँसम्म प्रशासनिक खर्च बढ्ने सरकारी अधिकारीहरूले जनाए । अाजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्