बाढीपहिरोले २७ राजमार्ग र २१ पुलमा क्षति, पुनर्निर्माण गर्न कति खर्च लाग्दैछ ?


 



काठमाडौं, भदौ ७
साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ । क्षति भएको संरचना पुरानै अवस्थामा पुर्‍याउन ३ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अध्ययनले देखाएको सडक विभागको भनाइ छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

नेपालमा साना प्रकोपका लागि पूर्वतयारी हुने भए पनि ठूलो परिमाणको क्षति पुर्‍याउने प्रकोपलाई न्यूनीकरण गर्न सरकारी योजना न्यून भएकाले यति ठूलो क्षति हुने गरेको सडक विभाग, योजना तथा डिजाइन महाशाखा प्रमुख दयाकान्त झाको भनाइ छ । ‘हाम्रो प्रयास जारी छ, तर पर्याप्त छैन,’ उनले भने ।

प्रतिकिलोमिटर सडक ३ देखि ५ करोड लागत
सडक इन्जिनियरहरूका अनुसार सडक मर्मत गर्नभन्दा नयाँ सडक निर्माण गर्नु सहज हुन्छ । सडक मर्मत गर्न देशभर जम्मा पाँचवटा मात्र निर्माण कम्पनी छन् । त्यसमा पनि पुल निर्माण गर्न कोही पनि चाहँदैन । किनकि यो जोखिमयुक्त हुन्छ । सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहका अनुसार नेपालमा ठाउँविशेष सडक निर्माण लागत फरकफरक छ । तर, न्यूनतम तीन करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँ लागतमा एक किलोमिटर सडक निर्माण हुन्छ । ‘हिमाली र पहाडी क्षेत्रमा केही बढी पर्छ भने तराईमा कम पर्छ,’ उनले भने । यो माटे सडक कालोपत्रे गर्दासम्मको प्रतिकिलोमिटर लागत हो ।

पूर्ण रूपमा नयाँ बनाउनुपर्ने चार पुल

१. रुसले बनाइदिएको पुल क्षतिग्रस्त
पूर्वपश्चिम राजमार्गको सप्तरीमा पर्ने यस पुलको दायाँ पहुँच स्ल्याब र पाइप कल्भर्टमा क्षति पुगेको छ । अहिले एकतर्फी गाडी सञ्चालनमा रहेको छ । क्षति भएको स्थानमा ग्याबिन पर्खाल, माटो भर्ने र ग्राभेलको काम सुरु गरिएको छ । यो रसियाले नेपाललाई बनाइदिएको पुल हो । यसको आयु सम्पन्न भइसकेको र नयाँ निर्माणका लागि सडक विभागले तयारी गरिरहेको सडक विभागका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख रमेशकुमार सिंहले बताए । सामान्यतया एउटा सडक पुलको आयु न्यूनतम ४० वर्षदेखि अधिकतम ५० वर्ष हुन्छ ।

२. धनुषा–महोत्तरी सीमा पुलमा क्षति
धनुषा र महोत्तरीको सिमानामा रहेको यस पुलमा क्षति भएपछि एकपटकमा एउटा गाडी मात्र पार गर्न दिइएको छ । पुलको एउटा खम्बा क्षतिग्रस्त भएको छ । यो पुल पनि मर्मत हुन नसक्ने र नयाँ निर्माण गर्नुपर्ने गरी क्षति भएको पुल हो । रसियाले नै निर्माण गरिदिएको यो पुल पनि आयु सकिएको पुल हो ।

३. पुलको आधारस्तम्भ नै भत्कियो
पूर्वपश्चिम राजमार्ग र बर्दियाको सदरमुकाम गुलरिया जोड्ने यो पुलको आधारस्तम्भ (फाउन्डेसन) नै भत्किएको छ । अहिले यो सडक भएर सवारी सञ्चालन भएका छैनन् । यो पुल निर्माणाधीन अवस्थामै रहेको थियो । यो पुल के कारणले भत्कियो भन्ने विषयमा अध्ययन गरेर मात्र थप बताउन सकिने सडक विभागको भनाइ छ ।

४. माडी चितई खोला पुल
डिभिजन सडक कार्यालय भरतपुरअन्तर्गत रहेको यो पुल भाँचिएको छ । चितवनको बरुवा बजारमा ३ स्पानको पुल भाँचिएर सडक अवरुद्ध रहेको छ । यो पुलबारे पनि थप अध्ययन गरेर मात्र बताउन सकिने विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्