मन्त्रालयहरु ‘भद्रगोल’: राज्यमन्त्रीले मागे अधिकार, यसरी हुँदैछ द्वन्द्ध बढ्ने खतरा


 


काठमाडौं, भदौ ८

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारमा २३ जना राज्यमन्त्री थपेपछि मन्त्रालय भद्रगोल बनेका छन् । देउवाले ठूलो संख्यामा राज्यमन्त्री थप गरेपछि मन्त्रालय भद्रगोल बनेका हुन् । साना मन्त्रालयमा राज्यमन्त्री बस्ने ठाउँ नभएपछि सहसचिवको कार्यकक्षलाई राज्यमन्त्रीको कार्यकक्ष बनाइँदा सहसचिवहरू उपसचिव तथा अधिकृतका कोठामा बस्न बाध्य छन् ।

५० सदस्यीय देउवा सरकारमा २३ राज्यमन्त्री र २६ मन्त्री छन् । ५० जना मन्त्रीहरूलाई व्यवस्थापन गर्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई हम्मेहम्मे परेको छ । अाजको अन्नपूर्णमा खबर छ ।

अधिकार दिनुपर्छ : राज्यमन्त्री
राज्यमन्त्रीले आफ्नो अधिकार खोज्न थालेका छन् । उनीहरूले मन्त्रालयमा हुने हरेक निर्णय सिस्टमेटिक रूपमा राज्यमन्त्रीमार्फत अघि बढ्नुपर्ने जिकिर गरेका छन् । खानेपानी तथा सरसफाइमन्त्री अब्दुल रजाक गदीले मन्त्रालयमा निर्णय गर्नुपर्ने महत्ववपूर्ण सबै निर्णय राज्यमन्त्रीमार्फत अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । ‘राज्यमन्त्रीलाई बाइपास गर्नु हँुदैन । हामी पनि राम्रा काम गर्ने लक्ष्यसाथ आएका हौं’, राज्यमन्त्री गदीले भने ।

द्वन्द्व बढ्ने खतरा
सचिवहरूका अनुसार मन्त्रालयमा मन्त्री तथा राज्यमन्त्री दुवै हुँदा अधिकार क्षेत्रबारे द्वन्द्व हुन सक्ने खतरा देखिएको छ । मन्त्री र राज्यमन्त्रीबीच द्वन्द्व बढे मन्त्रालयका कामकाज पनि नराम्ररी प्रभावित हुन सक्छ । कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहालले अधिकार क्षेत्रका कारण मन्त्रीबीच समस्या हुन सक्ने बताए । ‘कार्यबोझ कम भएका मन्त्रालयमा पनि राज्यमन्त्री राखिएको छ, यसले समस्या निम्त्याउन सक्छ’, सहसचिव दाहालले भने।

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्