कोरियामा नेपालीले किन गर्छन् आत्महत्या ? ३६ जनाले ज्यान फाले


 


काठमाडौं, भदौ १०
‘अब म रहिनँ, कसैले मलाई लगिसक्यो, मनमा हजार सपना थिए, पूरा गर्न सकिनँ’ भन्दै ‘सुसाइड नोट’ लेखेर दीपक सिंहले गत साउन २४ गते कोरियामा आत्महत्या गरे । कञ्चनपुरका सिंह १६ महिनाअघि मात्रै रोजगारीका लागि कोरिया पुगेका थिए ।

२५ वर्षीय सिंह होइसंगस्थित बंगुर फार्मनजिकैको जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए । सिंहले आत्महत्या गरेको एक दिनअघि मात्रै पर्वतका केशव श्रेष्ठले पनि आत्महत्या गरेका थिए ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । सन् २००८ देखि हालसम्म ईपीएस भाषा परीक्षा पास गरी रोजगारीका लागि दक्षिण कोरिया पुगेका सिंह र श्रेष्ठजस्तै १४ जना नेपालीले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी कृषिमा लागेका कामदार छन् । आत्महत्या गर्नेमध्ये अधिकांशले पासो लगाउने गरेको अंकुर नेपालको अध्ययनले देखाएको छ ।

सन् १९८० देखि नेपालबाट रोजगारी र विभन्न व्यक्तिगत कामका लागि नेपाली कोरिया जाने गरेका छन् । सरकारले सन् २००७ मा कोरियासँग श्रम सम्झौता गर्दै २००८ देखि कामदार पठाउँदै आएको छ । अहिलेसम्म ४४ हजारको हाराहारीमा ईपीएस भाषा परीक्षा पास गरी कामका लागि कोरिया पुगेका छन् ।

यसबाहेक पनि रोजगारी र विभिन्न काममा लागि कोरिया पुगेका नेपालीले आत्महत्या गरेको अंकुर नेपालले जनाएको छ । अंकुर नेपालका अनुसार अहिलेसम्म कोरियामा ३६ जना नेपालीले आत्महत्या गरिसकेका छन् ।

ईपीएस भाषा परीक्षा पास गरेर सन् २००८ देखि कोरिया पुगेका नेपालीमध्ये अहिलेसम्म ७६ जनाको मृत्यु भएको शाखाका प्रमुख बाबुराम खतिवडाले बताए ।जसमा आत्महत्या गर्नेको संख्या १६ छ भने सुतेकै अवस्थाका मृत्यु हुनेको संख्या १७ छ ।

कामको बोझले मानसिक तनाव र लाखौं आम्दानी गर्ने सोचले कोरिया पुगे पनि भनेजति आम्दानी नहुँदा आत्महत्याका घटना बढेका हुन् ।
यसबाहेक कोरिया पुगेका कामदारमध्ये सातजनाको सडक दुर्घटनामा मृत्यु भएको छ । अन्य व्यक्तिको संलग्नतामा दुईजनाको हत्या भएको छ भने स्वभाविक रूपमा मृत्यु हुनेको संख्या एक छ । कार्यस्थलमा मृत्यु हुनेको संख्या नौ छ भने २६ जना नेपालीको मृत्युको कारण खुल्न सकेको छैन ।

सन् २०१७ को जुलाई महिनामा मात्रै तीन नेपालीले कोरियाका आत्महत्या गरेका थिए ।अंकुर नेपालमा कोरियामा सीप आर्जन गरी नेपाल फर्किएर विभिन्न काम गरिरहेका व्यक्ति आबद्ध छन् ।

यसैगरी औद्योगिक दुर्घटनामा १६ प्रतिशत, सडक दुर्घटनामा ७।६९ र १५ प्रतिशत बिरामी भई मृत्यु हुने गरेको अंकुर नेपालको भनाइ छ ।  अंकुरले गरेको अध्यनमा सबैभन्दा बढी ३० प्रतिशत कामदारको मृत्यु सुतेकै अवस्थाका र २८ प्रतिशतले आत्महत्या गरेको देखाएको छ ।

आत्महत्या नै किन ?
कामको बोझले मानसिक तनाव उत्पन्न हुँदा आत्महत्या गर्नेको संख्या बढी भएको अध्ययनले देखाएको छ । लाखौं आम्दानी गर्ने सोचमा कोरिया पुगे पनि भनेजति आम्दानी नहुँदा आत्महत्याका घटना बढेको खतिवडा बताउँछन् । कतिपय अवस्थामा पारिवारिक तनावले पनि आत्महत्या गर्ने गरेको उनले बताए ।

नेपालमा काम गर्ने बानी नभएका तर कोरिया पुगेर अति संवेदनशील क्षेत्रमा काम गर्नुपर्दा आत्महत्या गर्नेको संख्या बढी भएको उनको दाबी छ । यसैगरी विगतको शारीरिक तथा मानसिक रोग बल्झिँदा आत्महत्या गर्ने गरेको अंकुर नेपालको अध्ययनले देखाएको छ ।

भाषा, संस्कृति तथा खानपान आफूसुहाउँदो नहुँदा, सहकर्मी र रोजगारदाताको दुव्र्यवहारका कारण कामदारले आत्महत्या गरेको हुन सक्ने खतिवडाको भनाइ छ । यसबाहेक महारोग लागेको शंका, घरपरिवारले रकमको दुरुपयोग गरेको अवस्था, काम गर्न नसक्दा, नेपाल फर्कन पनि नपाउँदा र कमजोर शारीरिक विचलनका कारण पनि आत्महत्या बढेको उनले बताए ।

सुतेको अवस्थामा मृत्यु हनेको संख्या बढ्नुमा अध्यधिक मदिरा सेवन रहेको खतिवडाको भनाइ छ । यसबाहेक नियमित स्वास्थ्य परीक्षण नगर्ने, व्यायामको अभाव र अध्यधिक चिसोबाट एक्कासी तातो वा तातोबाट चिसोमा बस्दा पनि सुतेकैै अवस्थामा मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

आत्महत्याका घटना न्यून गर्न मनोसामाजिक चिकित्सकको नेपाली टोली परामर्शका लागि सरकारले कोरिया पठाउने तयारी गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामदार भाषा परीक्षाको भरमा मेसिन चलाउने काममा संलग्न हुँदा कार्यस्थलमै मृत्यु हुने गरेको पूर्व श्रम सहचारी अनिलकुमार गुरुङ बताउँछन् । कोरियामा बढ्दो मृत्युको घटना न्यूनीकरणका लागि नेपाल तथा कोरिया सरकार र परिवार सबैले ध्यान दिनुपर्ने उनको सुझाव छ । आजको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्