बिहे गरेर १७ वर्षीया युवतीलाई १ लाख ३५ हजार भारुमा बेच्ने पक्राउ


 



चरीकोट, भदौ ११

बिहे गरेर काठमाण्डौमा राम्रोसँग राख्ने प्रलोभन देखाई दुई बर्षअघि भारतमा लगेर बेच्ने मुख्य गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट खरानीटार ५ घर भएका २१ बर्षीय निरकुमार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पक्राउ परेका नेपालीलाई शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ परेका नेपालीले ०७२ साउन ३ गते दोलखाको बैतेश्वर गाउँपालिका ६ नाम्दु निवासी बर्ष १७ की रिमा (नाम) परिबर्तनलाई विहे गरेर राजधानी लगेका थिए ।

राजधानीमा लगेको भोलिपल्टै रिमालाई कलंकीबाट माईक्रो बसमा चढाएर नेपालगंज पुर्याएको र बेहोस हुने औषधी खुवाएर त्यहाँबाट भारतीय गाडीमा राखेर नयाँदिल्ली पुर्याएर विक्री गरेको प्रहरी सामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

नयाँदिल्लीमा रहेकी नेपाली भाषी लक्ष्मी तामाङलाई एक लाख ३५ हजार भारतीय रुपैयामा विक्रि गरेको समेत बयानको क्रममा स्वीकार गरेको प्रहरीको भनाइ छ ।

कोठीमा बेचिएकी रिमाले कोठीमै आउने एक भारतीय युवालाई आफ्नो प्रेममा पार्न सफल भएकी थिईन । त्यहि भारतीय युवाको सहारामा रिमा कोठीबाट बाहिर निस्किएर प्रहरी सामु गएकी थिईन । प्रहरीकोमा पुगेकी नेपालीको उमेर १८ बर्ष नपुगेको कारण केहि समय उनलाई नेपाली राजदुतावासमा राखिएको थियो ।

२०७३ जेठ २० गते रिमा बेचिएको खवर आफ्न्तले थाहा पाएपछि बेचविखनमा संलग्न भएका निरकुमार र उनका भाउजु सिता नेपालीको नाममा रितपूर्वक जाहेरी दर्ता गराएका थिए । आफ्न्तको जाहेरीको आधारमा सिता नेपालीलाई तत्कालै पक्राउ गरेको र पूर्वपक्षको लागि रामेछापको कारागारमा राखिएको प्रहरीले जनाएको छ ।

रिमालाई निरकुमारका भाउजु रिमाको दिदि सिताले ललाइफकाइ गरी काठमाडौसम्म लगि दिएका थिए । अनुसन्धानको क्रममा सिता पनि मानब बेचविखनमा सक्रिय रहेको पाइएको प्रहरीको भनाइ छ । बेचविखनमा संलग्न सिता पक्राउ परेपनि मुख्य अभियुक्त निरकुमार भने फरार रहेका थिए ।

फरार रहेका निरकुमार राजधानीमा लुकिछिपि बसेको खवर प्राप्त भएपछि प्रहरीले खोजबिन गरेको थियो । खोजबिनको क्रममा शुक्रबार पक्राउ गरी चरीकोटमा ल्याएर सार्वजनिक गरिएको प्रनाउ कार्कीले बताए ।

पक्राउ परेका निरकुमारले यसअघि आफ्नै जेठी श्रीमतीलाई पनि गाउँको काका नाता पर्ने दुई जनाको सहयोगमा दिल्लीमा लगि बेश्यालयमा बिक्रि गरेको अनुसन्धानको क्रममा खुलेको जनाएको छ । निरकुमारका बारेमा थप अनुसन्धान भइरहेको र केहि दिनभित्रै अदालतमा पठाउने प्रहरीले बताएको छ । अाजको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्