युवा संघको बैठक किन स्थगित भयो ?


 


काठमाडौं, भदौ १६

नेकपा (एमाले) निकट युवा संघ नेपालको केन्द्रीय समितिको बैठक स्थगन भएको छ । आजदेखि शुरु हुने भनिएको बैठक प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको संघका अध्यक्ष राजीव पहारीले जानकारी दिनुभयो ।

आजदेखि दुई दिनसम्म नवौं महाधिवेशनको तयारीका लागि संघले केन्द्रीय कमिटी बैठकको आयोजना गरेको थियो । बैठकले विधान संशोधन, महाधिवेशन आयोजक समिति बनाउनेजस्ता महत्वपूर्ण निर्णय गर्ने बताइएको थियो ।

महाधिवेशन आगामी असोज २२ देखि २४ सम्मका लागि तय गरिएको छ । हरेक तीन÷तीन वर्षमा हुने संघको महाधिवेशन २०६९ फागुनमा भएको आठौँ महाविधेशनपछि हुन सकेको छैन ।

विसं २०७१ मा निर्वाचित अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि संघको महाधिवेशन नभई केन्द्रीय बैठकबाट नै अध्यक्षसहित पदाधिकारी चयन हुँदै आएको छ ।

केन्द्रीय कमिटीले नीरु पाल र राजीव पहारीलाई अध्यक्ष बनाएको थियो । बैठकका लागि सबै केन्द्रीय सदस्य राजधानीमा आइसकेका थिए ।

बैठक स्थगन भएपछि उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । केन्द्रीय सचिवालय सदस्य दीपक जिएमले एक्कासि बैठक स्थगन गरेर महाधिवेशन फेरि नगर्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्