निष्ठुरी “सानु” लाई अन्तिम पत्र


 


निष्ठुरी ले छाडेर गइ हालि

हेर्दा हेर्दै अर्काको भई हालि

माया मारेर हो एक्लो पारेर !

प्रिय निष्ठुरी सानु , अन्तिम पटक सुमधुर संझना !  नचाहँदा नचाहँदै पनी प्रिय सानु पत्र कोर्न बाध्य भएको छु ।

सुरुआत कता बाट गरौँ म त दोधारमा परेको छु । के लेखौँ के नलेखौँ अन्योलमा परेको छु । यो मेरो मन ।  हेर न अाठ बर्ष लामो समयको बोलचाल अनि माया हाम्रो, देख्नेहरुले त भने हामीलाई कस्तो माया यिनिहरुको भने होलान् अनि कति साथीले त रिस पनि गरे, तर मलाई सोच्न बाध्य पार्यो आज, के वास्तविकता मा हामी दुई बीच माया थियो त ?

एउटा प्रश्न उठेको छ मेरो मनमा, जुन प्रश्नको जवाफ मैले अहिले सम्म पनि पाउन सकेको छैन । सायद त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु । मन पराउने हजारौँ भेटिदा रहेछन सानु तर जुनि काट्ने एउटै हुदो रहेछ । सोचे र रोजेको कहाँ पुग्ने रहेछ र..! आफ्नो भाग्य मा लेखेको भेटिदो रहेछ त्यसैले खै के भनौँ अब हेरन यत्रो लामो समयको बोलचाल , माया त नभनौँ सायद , किन कि माया त मैले कहिल्यै पनि देखिन् ।

म पागल सरि एकोहोरो माया गरिरहे तिमीलाई, सायद तिम्रो मायामा पागल नै थिए होला । त्यसैले भुलेछु, एक तर्फि प्रेम कहिल्यै सफल हुन्न भन्थे माया मा धोका खानेले साचो रहेछ ।

ठिकै छ, आखिर अब तिमी बिना बाँच्नु नै मेरो लागि उचित हुन्छ जस्तो मलाई लाग्छ । गाह्रो, त्यो आफ्नो ठाउँमा छ, तर मैले कोसिस गर्नु पर्छ किन भने नत्र मेरो यो एक तर्फि मायाले मलाई जिउँदो लास बनाउने छ .

आखिर यहाँ निर आएर मेरो हार भएको देख्दै छु । तिम्रो सबै बितेको कुरालाई भुलाई म स्विकार गर्न तयार थिए , किन कि जीवनमा कसैलाई आँफु भन्दा धेरै माया गरेको थिए त , त्यो तिमी थियौ सानु केवल तिमी, जब तिमी पनि बितेका कुरा भुलाई साथ दिनको लागि तयार भयौँ, तव म साँच्चै, आखिर हाम्रो मायाले अब बाटो पाउँदैछ भन्ने ठाने ।

सोच् आखिर सोच् मानै सीमित भए, अनि जति बोलिन्थ्यो अनि माया दर्साइन्थ्यो ती सब केवल बोल्न र सुन्न मा मात्र रहे ति स्कुल जादा बाटो मा भेटिने चौतारा र बर पिपल साची थिए । तर ति पनी नयाँ सडक निर्माण हुदा तिम्रो मेरो माया सरि दोजरले पल्टाइ दिएको रहेछ । अब त अतित लाई सम्झेर हेर्दा पनी सपना कि बिपना जस्तो पो लाग्छ ।

तिमी माया मेरो लागि सफल भएको भए कति सुन्दर हुन्थ्यो होला यो जीवन । बास्तबिकतामा तिमी अझै पुरानो यादहरुको सहारामा अल्झकेो मैले पाए ।  सायद मेरो मायामा कुनै कमी थियो या त तिम्रो बोलीले मलाई स्विकार गर्यो तर हृदय बाट स्विकार गर्न सकेन जस्तो मलाई लाग्छ ।

समग्रमा म तिम्रो हृदयमा बस्न सकिन् । तिम्रो हृदयमा त सधैं तिम्रो अतीत बसिनै राखेको म देख्दैछु । तिमी र म बीचको दुरी गजब थियो । मिलनका आशाहरु कम मात्र अल्झिरहेको थियो, तै पनि माया गर्थै तिमीलाई त्यसैले आशाको दियो बलिनै रहेको थियो ।

हेर न, आखिर माया – माया नै हो नि त त्यसैले फोन पनि गर्दथे , अनि जिस्का जिस्कि गरि हाँस्दा आकाश मा उडेको पंक्षी सरह महसुस गर्थे । अनि बेलाबेला मा संझाउथ्यौ तिमीले, तिम्रा ती शब्द सुन्दा म त्यसै त्यसै मोहित भएको थिए । तर अब बुझ्छु र संझना गर्छु, ती शब्द मिठास आज कहाँ हराए, थाह छैन, केवल खल्लो पन मात्र महसुस गर्दैछु ।

त्यो गडि डाँडामा एक अर्का को हात समाएर खाएको कसम खै कहाँ गयो शायद तिमीलाई माया भन्ने कुरा के हो थाह नै थिएनछ । सुन्दर मायाको नाममा झुट्टो कसम रहेछ । तिम्रो सानु एक पटक २०६१ साल लाई सझेर हेर त अनि आजकलको माया झन कस्तो छ ?  १, २ वटा मोबाइलमा, मेसेज पठाई संझना दिँदै फोन गर्नु भन्दै मा माया हुँदैन यहाँ ! “म पर्खी राखेको छु”, ।

“तिमी फर्कि आउ”, यस्ता शब्दको प्रयोग गर्दैमा माया गर्छौ भन्ने प्रमाणित हुदैन रहेछ । उफ् यो मेरो माया मलाई अझै नै धोका दिँदै छ ।यस्तै रहेछ जिन्दगी आखिर तिमी र म त्यही खोलाको दुई किनारा, एकले अर्कोलाई हेर्दै माया जगाउँदै बस्ने तर संगम नभएको ठिकै छ अब तिमीलाई म मेरो जिन्दगी सोच्ने अधिकार पनी छैन ।

तिम्रो जिन्दगीको लागि मैले सोच्ने अधिकार पनी छैन । तिमी पनी पराई भएकी छौ म पनी कसैको भइसकेको छु । केवल यो त हाम्रो माया प्रेमको अवस्थालाइ पछाडि फर्केर हेरेको मात्र हो। तिम्रो जिन्दगी असहनीय बेदना लिई आज यो निर्णय गर्दैछु ।

सायद यो सबै तिम्रो र मेरै कारण बाट पनी भएको हुन सक्छ । अन्त्यमा सानु अब तिम्रा त्यो झुटो मायामा, म मेरो जिन्दगी बाँच्न चाहन्न । त्यसैले म तिमीबाट टाढा टाढा जाँदैछु तिमी सँग कहिल्यै नभेट्ने गरी, सक्छौ भने तिमीले पनी मलाई भुलि दिनु है । सानु भन्दै विदा मागेको पनी पाँच साल पुरा भएछ । र, यो मेरो जीवन को प्रेम पत्र कसै संग मेल खान गएको खण्डमा म माफी चाहन्छु  । तिमीलाई धेरै माया गर्ने अनि तिमी बाट धोका खाएको मान्छे….

रमेश थापा

प्रकाशित मिति: १० श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्