ठूलो परिमाणमा शीर्ष दलहरुकै प्रचार सामग्री बरामद, प्रहरीले हान्यो प्रेसमै छापा


 


धनुषा, भदौ २७

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । मिथिला अफसेट प्रेसमा सो टोपी र टिसर्टमा निर्वाचन आचारसंहिता विपरीत नारा लेखिँदै थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठूलो पाँच पोका त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद भएको छ ।

तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपाको रहेको बताइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपछि प्रहरीले सोमबारदेखि सक्रियता बढाएको छ । जनकपुरमा ठूलो ब्यानर पनि टाँग्न दिइएको छैन । रासस

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्