अप्राकृतिक रुपमा रुद्राक्ष बनाउदै चिनियाँ, प्रशासनको रोक


 


काठमाडौं, भदौ २७

भोजपुरको उत्तरी क्षेत्र तथा सङखुवासभाको बिभिन्न नगरपालिका तथा गाउँपालिकामा हुने रुद्राक्षलाई चिनियाँ व्यापारीले अप्राकृतिक बनाएर बजारमा पुर्‍याउने गरेका छन् ।

गोला, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिने गरेको पाइएकोले स्थानीय प्रशासनले रोक लगाएको छ ।

संखुवासभा र भोजपुर क्षेत्रमा किसानसँग बगान नै खरिद गरी रुद्राक्षको आकार अप्राकृतिक परिवर्तन गर्न थालेपछि किसान र स्थानीय व्यवसायीले स्थानीय प्रशासनसमक्ष उजुरी दिएका थिए ।

उजुरीपछि संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले कानुनी आधारभन्दा पनि कुनै वस्तुलाई परिमार्जन गर्न नहुने भएकाले तत्काल रोक लगाउने बताए ।

जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्यले भने चिनियाँलाई सचेत गराउने र बनाएकालाई छुट दिएर आगामी वर्षदेखि अप्राकृतिक बनाउन पूर्ण रोक लगाउने बताए ।

अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रने रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेश चापागाईंले बताए ।

गाउँ–गाउँमा प्रवेश गर्दा स्थानीय सरकारसँग अनुमति लिन भोजपुरका षडानन्द नगरपालिका, खाँदबारी नगरपालिकाका मेयरले सूचना जारी गरेका छन् ।

गत वर्ष पनि दानाको बीचमा बाँधेर डमरु आकारको अप्राकृतिक रुद्राक्ष बनाएकाले भारत र चीनकै बजारमा बिक्री नभएको व्यापारीको भनाइ छ । गत वर्षसम्म भोजपुर र संखुवासभामा मात्र ३० करोड रुपैयाँभन्दा बढीको रुद्राक्ष खरिदबिक्री भएको महासंघको तथ्यांक छ ।

प्रतिकूल मौसम र जलवायु परिर्वतनको असरले यस वर्ष रुद्राक्ष उत्पादनमा कमी आएको छ । छिमले हुँदा दाना उत्पादन डेढ महिना ढिलाइ भएको छ ।

बालगुरु षडानन्दले भोजपुरको दिङलामा रुद्राक्ष रोपेपछि पूर्वमै खेती विस्तार भएको छ । धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथरमा समेत केही मात्रामा रुद्राक्ष उत्पादन हुँदै आएको छ । हिन्दु परम्परा अनुसार भारतमा धार्मिक आस्थाको वस्तुका रूपमा रुद्राक्ष खरिद–बिक्री हुने गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्