के गर्दै छन्, नेपाल आइडलको ‘टप टेन’बाट बाहिरिएकाहरु ?


 


काठमाडौं, भदौ ३०
देशभरका हजारौँ प्रतिस्पर्धीबाट सुरु भएको नेपाल आइडल ‘टप थ्री’को चरणमा पुगिसकेको छ । फ्रेन्चाइजका रूपमा नेपालमा पहिलोपटक सुरु भएको नेपाल आइडलले छोटो समयमै लोकप्रियता कमायो । उत्कृष्ट चार प्रतिस्पर्धीका लागि ३७ लाखभन्दा बढी भोट आउनुले पनि यसको लोकप्रियतालाई प्रस्ट्याउँछ । आजको नयाँ पत्रिकामा खबर छ ।

‘टप थ्री’का प्रतिस्पर्धी नेपाल आइडलमै भिडिरहेका छन् भने ‘टप टेन’सम्म पुगेका बाँकी ७ सहभागी पनि स्टेज कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त हुन थालिसकेका छन् । सागर आले, सुरज थापा, केन्जलमेहर श्रेष्ठ, सुजाता पाण्डेय, प्रमिला राई, विल्सन श्रेष्ठ, सन्ध्या जोशीको दैनिकी एक सेलेब्रिटीको जस्तै बनिसकेको छ ।

आइडलबाट निस्केपछि सुरजको चार्म बढ्यो
सुरज थापा नेपाल आइडलमा निकै रुचाइएका प्रतिस्पर्धी हुन् । तर, उनी ‘‘टप सिक्स’भन्दा अगाडि बढ्न सकेनन् । तैपनि नेपाल आइडलबाट निस्केपछि उनलाई भ्याइनभ्याई भएको छ । ‘पहिलो एक हप्ता त काम नै विभिन्न मिडियासँग अन्तर्वार्ता दिनु भइसकेको थियो,’ उनले भने, ‘बिहानदेखि बेलुकीसम्म अन्तर्वार्ता दिँदासमेत सकिएको थिएन ।

त्यहीकारण घाँटीमा समस्या आएर केही दिन गीत गाउनै सकिनँ ।’ नेपाल आइडलबाट बाहिरिएसँगै उनले बौद्धमा अपांगता भएकाहरूमाझ गएर प्रस्तुति दिए । त्यहाँ सुरजलाई सम्मान पनि गरिएको थियो । उनले सामाखुसीमा पुगेर एक स्कुलका विद्यार्थीलाई पनि गीत सुनाए । भोकल रिकभर भएपछि उनले ठमेलमा लाइभ म्युजिक कन्सर्ट गरेका थिए ।

अहिलेसम्म १५ वटाभन्दा बढी गीत रेकर्डिङका लागि तयार रहेको सुरज बताउँछन् । उनले युके, अस्ट्रेलिया र कोरियाको कार्यक्रम फाइनल गरिसकेका छन् । अमेरिकालगायतका अरू देशबाट पनि उनलाई फोन आइरहेका छन् । सुरज देशविदेशका आफ्ना फ्यानहरू देखेर स्वयं अचम्ममा परेका छन् ।

विगत १४ वर्षदेखि संगीत क्षेत्रमा निरन्तर लागेका सुरज नेपाल आइडल जानुपूर्व सूत्र ब्यान्डमा आबद्ध भई सानातिना कार्यक्रममा भाग लिने गर्दथे । उनी भन्छन्, ‘म म्युजिकविना बाँच्न सक्दिनँ र अरू काम पनि गर्न सक्दिनँ । त्यसैले, बाँकी दिनमा संगीतमै स्थापित भएर काम गर्छु । अहिलेसम्म त जसरी–तसरी संघर्ष गरिरहेकै थिएँ । अब भने केही आशा जागेको छ ।’

आइटी र संगीतलाई सँगै हाँक्दै केञ्जल

केञ्जलमेहर श्रेष्ठले नेपाल आइडलको उत्कृष्ट १० सम्म आफ्नो दमदार प्रस्तुति दिइन् । जब उनी आइडलबाट बाहिरिन्, उनलाई कार्यक्रमको अफरको लहर लाग्न थाल्यो । उनले युएईको आबुधावी र कतारको दोहामा कन्सर्ट गरिसकेकी छिन् । उनी भन्छिन्, ‘अब उर्लाबारी, पोखरा, अस्टे्लिरया र साइप्रसमा कार्यक्रम गर्छु ।’

नेपाल आइडलमा अडिसन दिन जानुपूर्व नै उनको ‘पिच फोर्ट’ नामक ब्यान्ड थियो । उनले काठमाडौंमा चारवटा कार्यक्रम आफ्नै ब्यान्डसँग मिलेर दिइसकेकी छिन् । नेपाल आइडलबाट बाहिरिएपछि उनको तीनवटा गीत रेकर्ड भइसकेको छ । धेरैजसो समय उनी ब्यान्ड पर्फर्मेन्समै व्यस्त छिन् ।

केञ्जल गायिका मात्र नभएर आइटीकी विद्यार्थी पनि हुन् । उनी बिएससी आइटीको अन्तिम परीक्षा सकेर रिजल्टको पर्खाइमा छिन् । रिजल्ट आएसँगै तत्कालै एमएससी आइटी पनि सकाउने उनको सोच छ । केञ्जल भन्छिन्, ‘आइटीसम्बन्धी काम र म्युजिकलाई सँगसँगै अगाडि बढाउँछु । दर्शकले मनपराउने खालको गीत दिने प्रयास गरिरहनेछु ।’

आफ्नै कम्पोजमा गीत गाउँदै विल्सन

विल्सन श्रेष्ठ नेपाल आइडलको उत्कृष्ट आठबाट बाहिरिए । नेपाल आइडलबाट बाहिरिएपछि विल्सन पनि सम्मान र रियालिटी सोमा व्यस्त रहे । अहिले आफ्नै कम्पोजमा गीत रेकर्ड गर्ने तयारीमा रहेका विल्सन भन्छन्, ‘नेपाल आइडलबाट पाएको रकस्टारको नामलाई बचाइराख्नु मेरो च्यालेन्ज हो ।’

नेपाल आइडलबाट निस्केलगत्तै उनलाई सामुदायिक संघसंस्थाले सम्मान गरे । त्यसलगत्तै उनले इभिजा, कर्मा, डेजाबु क्लबमा एकल प्रस्तुति दिए । पपसंगीतमा आफ्नो करिअर बनाउने सोच राखेका विल्सन आफ्नो पढाइलाई पनि पूरा गर्दै छन् ।

होटेल म्यानेजमेन्टमा ग्राजुएसन सकाएका उनको विदेश गएर मास्टर्स गर्ने सोच छ । अहिले ठमेलमा उनको एउटा अनलाइन बिजनेसको काम पनि छ । उनी भन्छन्, ‘नेपाल आइडलमा गइसकेपछि करिअरले नै नयाँ मोड लियो । अब म्युजिक क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गर्ने योजना छ ।’

नयाँ वर्षका लागि अहिल्यै प्याक भइन् सन्ध्या

सन्ध्या जोशी नेपाल आइडलको उत्कृष्ट नौसम्म पुगेकी थिइन् । त्यसपछि उनलाई नेपाल आइडल होइन, रेकर्डिङ स्टुडियोभित्र भेट्न थालियो । उनले हालै आफ्नै रचनामा रहेको ‘यो समय’ बोलको गीत रेकर्ड गरिन् । त्यसपछि ८० जना गायकसँग ‘न्याउली’ बोलको देउडा गाइन् ।

नेपाल आइडलबाट बाहिरिएलगत्तै उनले इटहरीमा कन्सर्ट दिइन् । त्यसपछि काठमाडौंमै तीनवटा च्यारिटी सो पनि गरिन् । नयाँ वर्षको लागिसमेत उनी प्याक भइसकेकी छिन् । नयाँ वर्षमा उनी दुबईको कन्सर्टमा सहभागी हुँदै छिन् ।

बीचमा उनको कलेजको धेरै क्लास छुटेको थियो । तर, अब उनी पढाइलाई पनि निरन्तरता दिने योजनामा छिन् । उनी ब्याचलर इन पब्लिक हेल्थ पढ्दै छिन् । अहिले लास्ट इयरको रिसर्चको काम भइरहेको छ । त्यति मात्र होइन, सन्ध्या एउटा एनजिओमा इन्टर्न पनि गरिरहेकी छिन् ।

उनले पनि गीतसंगीतकै क्षेत्रमा लाग्ने सोच बनाएकी छिन् । भन्छिन्, ‘अरू काम पनि गर्छु, तर अलि बढी संगीतमै फोकस हुन्छु ।’ आफूलाई फिल्मका गीतहरू गाउने अफर पनि आइरहेको उनले जानकारी दिइन् ।

प्रमिला राई दुबईमा

बैंकको जागिरे प्रमिला राईलाई नेपाल आइडलले चर्चाको शिखरमा पु¥यायो । उनी उत्कृष्ट सातभन्दा अगाडि बढ्न सकिनन् । तर, नेपाल आइडलबाट बाहिरिएपछि भने उनको पनि व्यस्तता बढेको छ । अहिले उनी दुबईमा कन्सर्ट गर्न पुगेकी छिन् । नेपाल आइडलबाट निस्किएलगत्तै उनले लियोन क्लबमा कन्सर्ट गरेकी थिइन् । बाढीपीडितका लागि उक्त च्यारिटी गरिएको थियो । वेस्टर्न टोन मन पराउनेहरू प्रमिलाका विशेष फ्यान छन् ।

सुजाता पनि गीत रेकर्डिङमै

सुजाता पाण्डेय टप फाइभभन्दा माथि उक्लिन सकिनन् । बुटवलकी सुजाता टप फाइभमा पुग्ने एकमात्र महिला प्रतियोगी थिइन् । स्थानीय राममणि क्याम्पसमा बीबीएस अध्ययनरत् २१ वर्षीया सुजाता अहिले काठमाडौंकै स्टुडियोहरुमा गीत रेकर्ड गराउँदै गरेकी अवस्थामा भेटिन्छिन् । पछिल्लो समय सामाजिक सञ्जालमा उनको फलोअर्स् बढेको छ ।

समर्थकहरुको साथ खोज्दै सागर

सागर आलेमाथि धेरैको विश्वास थियो, उनी पक्कै टपथ्रीमा पुग्नेछन् । तर, धेरै अनुमानहरु गलत ठहरिए । सागर टपथ्री पुग्न सकेनन् ।
बाहिरिने क्षणमा आँसु खसाले पनि सागर सम्हालिसकेका छन् । उनले फेसबुक स्ट्याटसबाट आफ्ना समर्थक र शुभचिन्तकहरुप्रति आभार व्यक्त गरे । उनी देशविदेशका केही स्टेज कार्यक्रममा छिट्टै प्रस्तुत हुँदैछन् ।

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्