निशान भन्छन्–’मेरो प्रतिस्पर्धा अब शुरु भयो’


 


काठमाडौं, असोज ८
नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराईले अब आफ्नो प्रतिस्पर्धा सुरु भएको बताएका छन् । उनले आफ्नो फेसबुक अकाउण्टमा लेख्दै भनेका छन्, नेपाल आइडलको फस्ट रनर अप हुँदा खुशीले निःशब्द छु, मलाई सहयोग गर्ने तपाइ सबैलाई धेरै धेरै धन्यवाद ।

नेपाल आइडलले आफूलाई सामान्य मञ्चबाट फस्ट रनर अपको उपाधि दिलाएको भन्दै उनले नेपाल आइडल टिमलाई पनि धन्यवाद दिएका छन् ।

उर्लाबारी मोरङका निशान भट्टराईले नेपाल आइडलको उपाधि नजिते पनि सम्पूर्ण नेपालीको मन जित्न सफल भएका छन् ।

उनले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरेर नेपाल आइडलको फस्ट रनर अप उपाधिसहित १५ लाख रुपैयाँ नगद पनि प्राप्त गरे ।

सबै प्रकारका गीतमा राम्रो प्रस्तुति दिने निशान भट्टराईले आफूलाई नेपाल आइडलको मञ्च र फस्ट रनर अपको उपाधिसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्णलाई निशानले धन्यवाद दिँदै विजया दशमीको शुभकामना पनि दिएका छन् ।

निशान फेसबुकमा लेख्छन्, 

आरणीय मेरा सम्पुर्ण प्रियजनहरुमा हार्दिक नमन्, साथै नजिकिदै गरेरको बडा दशैँको शुभकामना ।

ठिक यो बेला मसँग सबैजनलाई एकमुष्ट सम्वोधन गर्ने कुनै शब्द छैन । खासमा म निशब्द छु, स्तब्ध छु र म आफुले आफुलाई नै अपरिचत ठानिरहेको छु र बिस्तारै आफुभित्र हराइरहेको छु ।

समय उहीँ हो तर उहीँ समयले हरेक व्यक्तिका लागि फरक अवसर लिएर आउँदो रहेछ । मेरो हकमा समयले नेपाल आइडलको मञ्च लिएर आयो ।

मलाई कुनै समान्य अवस्थाबाट टपक्क टिपेर नेपाल आइडलको फष्ट रनर अप जस्तो गरिमामय उपाधी दिलाइ दियो यसका लागि नेपाल आइडलप्रति आभारी छु ।

खासमा मेरो जन्म नै मेरो लागि एउटा अवसर थियो, मेरा बाबा(ममी जसले मलाई जन्म दिनुभयो र यो धर्ती चिनाउनु भयो म सब भन्दा धेरै उहाँहरुको ऋणी छु ।

मेरा गुरुहरु जसले मलाई यहाँसम्म आइपुग्ने बाटो बनाई दिनुभयो, मेरा मार्गदर्शक मेरा गुरुहरुप्रति सतसत नमन गर्दछु । मेरा सम्पुर्ण शुभचिन्तक, मेरा फ्यानहरु यहाँहरु मेरा भगवान सरह हुनुहुन्छ ।

मैले खास उपाधी नजितेर यहाँहरुको सपना पूरा त गर्न सकिन यसमा मैले जे गर्नु पर्थ्यो सायद त्यो गर्न सकिनँ र हजुरहरुको म आइडल भएको हेर्ने सपना पूरा गर्न सकिन यसमा मेरा धेरै कमीकमजोरीहरु पनि थिए होलान तर आउँदा दिनहरुमा म ती कमीकमजोरीहरुलाई सुधार्ने वचन दिन्छु तर मैले यहाँ जेजे प्राप्त गरेँ त्यो सब यहाँहरुले नै दिलाईदिनु भएको हो ।

म जे छु जहाँ छु त्यो सबथोकको श्रेय हजुरहरुलाई नै जान्छ । मेरा हरेक कमदहरु हजुरहरु सम्पुर्णले थामी दिनु भएको छ, हजुरहरु बिना म एक बुँद पानी जति पनि छैन ।

हजुहरु हुनुहुन्छ हजुरहरुको माया छ र मात्र मैले म आफु भएको महसुस गरेरको छु । हजुरहरुलाई म कोटीकोटी प्रणाम गर्दछु ।

नेपाल आइडलका सम्पुर्ण प्रतिश्पर्धी साथीहरु यहाँहरुप्रति आभारि छु । यहाँहरु सम्पुर्ण हुनुहुन्थ्यो र नै यो प्रतिस्पर्धामा मैले म भएको अनुभूत गरेको थिएँ ।

मेरो यो उपलब्धीको भागिदार तपाईहरु पनि बराबर हुनुहुन्छ । यहाँहरुले प्रतिस्पर्धी भएर जो साथ र सहयोग गरिरहनु भयो त्यो मेरा लागि अनुपम छ ।

यो साथ र प्रेरणा आउँदा दिनमा पनि मलाई उत्तिकै खाँचो छ । देशविदेशमा बसेर मलाई लाखौँले सहयोग गर्नु भएको छ, यहाँहरुप्रति म ऋणि छु ।

अन्त्यमा मैले सबै पक्षलाई यहाँ सम्वोधन गर्न सकिरहेको छैन । मैले हजुरहरुलाई जति नै धन्यवाद दिए पनि त्यो यहाँहरुको सहयोगको बदलामा सारै सानो लागिरहेको छ ।

मेरो विवसता यतिखेर यही हो । मेरो खास प्रतिस्पर्धा भने अब सुरु हुँदैछ यसका लागि यहाँहरु सम्पुर्णको माया, हौसला, प्रेरणा, सुझाव, सल्लाह र साथको सँधै खाँचो हुनेछ । यसको आशा गरिरहने छु ।
यहाँहरुको प्यारो निशान भट्टराई

प्रकाशित मिति: ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्