तीन दलको चुनावी तालमेल : अब के हुन्छ सरकार ?



काठमाडौं, असोज १८
सत्ताको प्रमुख सहयोगी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेलदेखि पार्टी एकता गर्नेसम्मको सहमति गरेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्यबारे विभिन्न अड्कलबाजी सुरु भएका छन् ।

तर, अहिलेको संसद्को आयु एक महिनाभन्दा कम भएको, केन्द्र र प्रदेश सभा निर्वाचनका लागि समय थोरै भएको तथा संसद्मा बहुमत पुर्‍याउन पनि एमाले, माओवादीलाई सहज नभएकाले तत्काल सरकार फेरिने सम्भावना भने कम छ ।

मंगलबार आयोजित निर्वाचन तालमेल घोषणा कार्यक्रममा पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले आफूहरूको प्रयास कांग्रेसलक्षित नभएको भन्दै सरकार फेरबदलमा नलाग्ने संकेत गरेका छन् ।

‘हाम्रो तालमेल कांग्रेसविरुद्ध छैन,’ कार्यक्रममा प्रचण्डले भने, ‘म प्रस्ट पार्छु यो जनता र राष्ट्रको पक्षमा छ ।’ एमाले अध्यक्ष केपी ओलीले पनि तीनदलीय सहमति कसैका विरुद्ध नभएको टिप्पणी गरे । ‘हाम्रो सहमति कसैका विरुद्ध छैन, यो जनताको चाहना हो,’ ओलीले भने, ‘देश बनाउने कुराबाट कोही पनि नझस्के हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सरकार नफेरिने प्रचण्डको आश्वासन

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार बिहान र दिउँसो गरी दुईपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे । तर, दुवै भेटमा प्रचण्डले आफूहरूले चुनावी तालमेल गरे पनि सरकार फेरबदलतिर नलागेको भन्दै आश्वस्त बनाउन खोजेका थिए ।

‘प्रचण्डजीले प्रधानमन्त्रीसँग हाम्रो असन्तुष्टि सरकारसँग होइन, हामीले वापमन्थीबीच मात्र तालमेल गर्न लागेका हौँ भन्नुभएको छ,’ कांग्रेस नेता डा। प्रकाशशरण महतले भने, ‘प्रचण्डजीले अहिलेकै सरकारले निर्वाचन गराउँछ, सरकार फेरबदलको कुरा छैन भन्नुभएको छ ।’

बहुमत पुर्‍याउन समस्या, समयको चाप

आगामी १० र २१ मंसिरको प्रदेश र संघको निर्वाचनअघि सरकार फेरिने सम्भावना न्यून छ । २९ असोजमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने र ५ कात्तिकमा उम्मेदवारको मनोनयन हुने अघिल्लो दिनबाटै यो संसद्को कार्यकाल सकिने भएकाले नयाँ सरकार गठनको गृहकार्य त्यति सहज छैन ।

एमाले र माओवादी केन्द्र मिले पनि सरकार गठन गर्न बहुमत पुग्दैन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, कमल थापा नेतृत्वको राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपासहितका साना दलबाट पनि समर्थन आवश्यक पर्छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेश र संघको निर्वाचनको मुखमा सरकार फेर्ने पक्षमा आफ्नो पार्टी नभएको बताइन् । ‘संविधान कार्यान्वयनका निम्ति चुनाव हो, यसकारण यो सरकारलाई हाम्रो समर्थन भइरहन्छ,’ भुसालले भनिन्, ‘हामी निर्वाचनसम्म सरकारमा सहभागी हुन्छौँ ।’

कांग्रेस अब के गर्छ ?

कांग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीचको नयाँ तालमेललाई अस्वाभाविक भनेको छ । आफूसँग लगातार दुईपटकसम्म सत्तागठबन्धन र स्थानीय तहको निर्वाचनमा केही ठाउँमा चुनावी तालमेल गरे पनि दसैँको माहोलमा रातारात माओवादी र एमालेबीच भएको सहमतिलाई कांग्रेसले अस्वाभाविक भएको निष्कर्ष निकालेको हो ।

कांग्रेस पनि तालमेलको प्रयासमा

एमाले र माओवादी केन्द्रको नयाँ चुनावी गठबन्धन बनेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिसँग तालमेलको प्रयास गर्ने संकेत गरेको छ । मंगलबार सभापति देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशरण महतसहितका नेताबीच यस विषयमा अनौपचारिक कुराकानी भएको थियो ।

बुधबारको कार्यसम्पादन समिति बैठकले विकसित राजनीतिक घटनाक्रमबारे थप छलफल गर्ने भएको छ । ‘हामी पनि अब पार्टीलाई थप एकताबद्ध गर्दै निर्वाचनमा होमिन्छौँ,’ महतले भने, ‘लोकतान्त्रिक शक्तिबीचको एकतालाई जोड दिन्छौँ । यस्ता शक्तिबीच तालमेलको प्रयास गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News