रवीन्द्र मिश्रलाई नै भोट किन ? यस्ता छन् उनका प्रतिबद्धताहरू


 


म बीबीसी नेपाली सेवाको पूर्व प्रमुख, ‘खान पुगोस् दिन पुगोस्’, ‘भूमध्यरेखा’ र ‘रवीन्द्र मिश्रका कविता’को लेखक हुँ ।

‘व्यक्ति बन्ने तर देश नबन्ने’ दशकौंको विडम्बनालाई सदाका लागि अन्त्य गर्दै यो देशलाई हाम्रै जीवनकालमा संवृद्ध बनाउने दृढताका साथ सुसंस्कृत राजनीतिक शक्ति निर्माणमा जुट्न मैले ७ महिनाअघि बीबीसीबाट राजीनामा दिएको थिँए।

हाल विवेकशील साझा पार्टीको संयोजकको भूमिकामा छु। म कल्याणकारी समाजको अभ्यासकर्ता र कल्याणकारी राज्यको प्रबल वकालतकर्ता पनि हुँ ।

निर्वाचित भएको खण्डमा मैले पाउने तलब क्षेत्र नम्बर १ का संघ–संस्था तथा अन्य परोपकारी कार्यहरूका लागि खर्च गर्ने अठोट गरेको छु ।

मेरा प्रतिबद्धताहरू

१. म सांसदको काम, कर्तव्य र अधिकारको सीमाभित्र बसेर खासगरी क्षेत्र नम्बर १, सम्पूर्ण उपत्यका र देशका लागि दिलोज्यान दिएर काम गर्छु।

२. म महानरपालिकासँग समन्वय गरेर क्षेत्र नम्बर १ को खासगरी खुला क्षेत्र संरक्षण, केटाकेटीहरूलाई खेल्ने पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने–टहलिने ठाउँहरू, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्था र सुकुम्वासी व्यवस्थापनका लागि पहल गर्नेछु र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिनेछु।

३. म सांसदका रूपमा महानगरपालिका भित्र व्यवस्थित शहरीकरण, आधारभूत पूर्वाधार लगायत नगरवासीका प्रत्यक्ष सरोकारबारे तपाईँहरूका दृष्टिकोण संसदमा जोडदाररूपमा राख्नेछु र ती विषयहरूमा आवश्यक नीति र कानुन निर्माणमा पहल गर्नेछु ।

४. म सांसदको हैसियतमा आफ्नो क्षेत्रको विकासको लागि पाउने र ल्याउन सक्ने बजेट क्षेत्र नम्बर १ का प्रबुद्ध र प्रतिष्ठित व्यक्तिहरूको समूह बनाएर उनीहरूको सुझाव–सल्लहमा मात्र खर्च गर्नेछु। ती रकमहरू म कुनै पनि हालतमा राजनीतिक स्वार्थ र लाभका लागि खर्च गर्ने छैन।

५. म सांसदका रूपमा देशको अहित हुने (उदाहरणका लागि, इमानकी प्रतीक प्रधान न्यायाधिशमाथि महाअभियोग लगाउने, दसौँ लाख विद्यार्थीको भविष्य अन्धकार हुने शिक्षा ऐन पारित गराउने, व्यक्तिगत लाभका लागि करोडौं नेपालीको स्वास्थ्य सेवामा खेलबाड गर्ने कानुन बनाउने) आदि जस्ता कार्य कुनै हालतमा गर्ने छैन ।

रवीन्द्र मिश्र
उमेदवार, काठमाडौँ क्षेत्र नं १
चुनाव चिन्ह ‘तराजु’

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्