सिटौला र लिङ्देनले झापा-३ नछोडेपछि राप्रपा-का‌ंग्रेस सहकार्य संकटमा, मकवानपुर कांग्रेसले थापालाई नसघाउने


 


काठमाडौं, कार्तिक १३

नेपाली कांग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपा आक्रोशित बनेको छ ।

कांग्रेससँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेको राप्रपाले दाबी गरिरहेको झापा ३ बाट सिटौलाले नछोड्ने भएपछि  महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट झापा ३ मा उम्मेदवार बन्ने भएपछि गाउँमा भोट माग्दै हिँडेका लिङ्देनले गठबन्धन टुटेको ट्विटरमा जनाएका छन् ।

उनले भनेका छन्, ‘भ्रममा नपरौं झापा क्षेत्र नं.३ बाट मेरो उम्मेदवारी कायम रहन्छ। कुरा यति हो …एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससंगको गठबन्धन टुट्यो।

राप्रपा महामन्त्री लिङदेनले कांग्रेससँग गठबन्धन टुटेको बताए पनि पार्टीले औपचारिक रुपमा कांग्रेससँगको गठबन्धन टुटेको औपचारिक घोषणा गरिसकेको छैन । राप्रपा अहिलेको सरकारमा पनि सामेल छ ।

यसअघि कांग्रेसले झापा ३ मा राप्रपाका महामन्त्री लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिएपछि उनलाई फेरि प्रत्यक्षतर्फ नै राख्ने निर्णय भएको हो ।

झापा क्षेत्र नम्बर ३ अन्तरगत बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिका पर्छन् । त्यसैगरी भद्रपुर नगरपालिकाका वडा नम्बर १ देखा ८ सम्म यस क्षेत्रमा समेटिएका छन् । विर्तामोड नगरपालिकाको वडा नम्बर १० पनि यही निर्वाचन क्षेत्रमा पर्छ ।

यीमध्ये स्थानीय चुनावमा हल्दीबारी र कचनकवल गाउँपालिका राप्रपाले जिनतेको थियो । बाह्रदशी गाउँपालिका कांग्रेसले जितेको थियो ।

स्थानीय निर्वाचनमा झापामा राप्रपालाई ३ स्थानीय तहमा जित दिलाउन लिङ्देनको भूमिका महत्वपूर्ण थियो । लिङदेनको यो निर्वाचन क्षेत्र राप्रपाले आश गरेको ठाउँ हो । कांग्रेस नेता सिटौलाको निर्वाचन क्षेत्र पनि यही हो ।

लोकतान्त्रिक गठबन्धनको एक प्रमुख घटक राप्रपाले झापा ३ सहित प्रतिनिधिसभामा ७ सिट पाउने सहमति भएको थियो, जुन सहमति अनुसार अध्यक्ष कमल थापा मकवानपुर १, महामन्त्री लिङ्देन झापा ३, राजीव पराजुली पर्सा २ र कुन्तीकुमारी शाही दैलेख १ बाट उम्मेदवार बन्ने निर्णय राप्रपाले गरिसकेको छ ।

यता राप्रपा अध्यक्ष थापाले पनि ट्विट गर्दै सोमबार भनेका छन्, ‘नेपाली कांग्रेससंगको सहकार्यमा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाको तर्फबाट उम्मेदवार भएको छु।सहयोग र समर्थनकोलागि सबैमा सादर अपिल ।’

उता मकावनपुर कांग्रेसले राप्रपाका थापालाई परिवर्तन विरोधी भन्दै चुनावमा भोट नहाल्ने पत्रकार सम्मेलन गरेरै बताएका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्