तालमेलको अन्तिम कसरतमा कांग्रेस र मधेस केन्द्रित दल, किन मिलेन कुरा?


 


काठमाडौं, कार्तिक १५

कांग्रेस र मधेस केन्द्रित दलबीच चुनावी तालमेलका लागि अन्तिम कसरत भइरहेको छ । दुवै पक्षबीच प्रदेश २ को ३२ निर्वाचन क्षेत्र बाँडफाँटमा मुख्य समस्या देखिएको छ ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच सिट बाँडफाँटमा सहमति भए पनि कांग्रेससँग मंगलबार अबेरसम्म पनि सहमति जुट्न सकेको छैन ।

दुवै पक्षले प्रदेश २ का प्रतिनिधिसभाका ३२ सिटमध्ये २० सिट पाउनुपर्ने जिकिर गर्दै आएका छन् । कांग्रेस र मधेस केन्द्रित दलले २ नम्बर प्रदेशलाई आ–आफ्नो प्रभाव क्षेत्र मान्दै बढी सिट मागेपछि सहमति जुटाउन सकस परेको हो । ‘अन्य प्रदेशमा समस्या छैन, मुख्य समस्या नै २ नम्बर प्रदेशमा हो,’ वार्तामा बसेका कांग्रेसका एक नेताले भने, ‘२ नम्बर मिल्नासाथ अरू छिनभरमै मिल्छ ।’

२ नम्बर प्रदेशमा २० सिट दाबी गर्दै आएका फोरम र राजपा १८ मा झरेका छन् । त्यसमा पनि सहमति बन्न सकेको छैन । सहमति नजुटे शीर्ष नेताको ठाउँमा मात्रै तालमेल गरी अन्य क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने दुई पक्षको समझदारी छ ।

फोरम र राजपाबीच सिट बाँडफाँटमा सहमति भएलगत्तै कांग्रेसका शीर्ष नेतासँग छलफल चलेको थियो । सोमबार राति अबेरसम्म पनि फोरम र राजपासँग कांग्रेस नेताहरूले छलफल गरेका थिए । राजपा र फोरमसँगको तालमेल लम्बिएका कारण कांग्रेसको उम्मेदवार छनोट गर्न बसेको संसदीय समितिको बैठकसमेत प्रभावित भएको छ । पहाडी जिल्लामा उम्मेदवार छनोट अन्तिम चरणमा पुगे पनि मधेसका क्षेत्रमा निर्णय हुन सकेको छैन ।

कांग्रेस संसदीय समितिका सदस्य एनपी सावदले मधेस केन्द्रित दलहरूसँग तालमेलबारे छलफल भइरहेकाले उम्मेदवार छनोटमा ढिलाइ भएको बताए । ‘पहाडी क्षेत्रमा करिब टुंगो लगाइसकिएको छ,’ उनले भने, ‘मधेसका क्षेत्र मात्रै बाँकी छन् ।’ मंगलबार कांग्रेसले कास्की १ मा यज्ञबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोही क्षेत्रको प्रदेशसभामा कास्की कांग्रेसका सभापति कृष्ण केसी र व्यवसायी तिलक रानाभाटलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यस्तै, स्याङ्जा १ बाट राजु थापालाई उम्मेदवार बनाउने निर्णय लिएको छ । स्याङ्जा २ बाट यसअघि नै गोपालमान श्रेष्ठको उम्मेदवारी घोषणा भइसकेको छ ।

फोरम र राजपाबीच २ क्षेत्रमा सहमति 

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच प्रदेश २ मा सिट बाँडफाँट टुंगिएको छ ।  प्रतिनिधिसभाको ३२ निर्वाचन क्षेत्रमा संघीय समाजवादी फोरमले १७ र राजपाले १५ सिट लिएका छन् ।

त्यस्तै, ६४ निर्वाचन क्षेत्रको प्रदेशसभामा संघीय समाजवादी फोरमले ३३ र राजपाले ३१ सिट लिने गरी बाँडफाँट मिलाइएको छ । सिट बाँडफाँटसम्बन्धी सहमतिपत्रमा राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

जसअनुसार पर्साको १, २ र ३, बाराको २ र ३, रौतहटको २, सर्लाहीको ३, महोत्तरीको १ र ४, धनुषाको १, २ र ४, सिरहाको १, २ र ३ र सप्तरीको १ र २ निर्वाचन क्षेत्र संघीय समाजवादी फोरमले लिएको छ । राजपाले पर्साको ४, बाराको १ र ४, रौतहटको १, ३ र ४, सर्लाहीको १, २ र ४, महोत्तरीको २ र ३, धनुषाको ३, सिरहाको ४ र सप्तरीको ३ र ४ निर्वाचन क्षेत्र लिएको छ ।

राजापाले अध्यक्षमण्डलका सदस्यहरू महन्थ ठाकुरलाई महोत्तरी ३, महेन्द्र यादवलाई सर्लाही २, राजेन्द्र महतोलाई सर्लाही ४, शरदसिंह भण्डारीलाई महोत्तरी २, अनिल झालाई रौतहट १, राजकिशोर यादवलाई सिरहा ४ बाट उम्मेदवार बनाउने भएको छ ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट उठ्ने भएका छन् । अर्का नेता अशोक राई सुनसरीबाट उठ्ने तय भए पनि क्षेत्र यकिन भइसकेको छैन । – कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: १५ कार्तिक २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्