यस्तो हुनेछ प्रत्यक्षको नयाँ मतपत्र, कसरी भोट हाल्ने ?


 


काठमाडौं, कार्तिक १९

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छापेको छ। सर्वोच्च अदालतको आदेशअनुसार आयोगले ३२ जिल्लाका लागि मतपत्र छपाइ कार्य सकेको हो।

आगामी १० मंसिरमा प्रतिनिधिसभाका ३७ र प्रदेश सभातर्फ ७४ सिटमा हुने निर्वाचनमा ३२ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुनेछन्। मतदाताभन्दा २० प्रतिशत बढी मतपत्र छाप्ने प्रचलन छ। समानुपातिक निर्वाचनका लागि आवश्यक मतपत्र भने आयोगले १० कात्तिकभन्दा अघि नै छापिसकेको छ।

अहिले निर्वाचन सामग्री जिल्ला–जिल्ला पठाउने काम भइरहेको आयोगले जनाएको छ। यस्तो बन्यो प्रत्यक्षको मतपत्र निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षको मतपत्र सुरुमा एउटै पानामा दुईवटा मतपत्रको ढाँचा तयार गरेको थियो।

तर, सर्वोच्च अदालतले छुट्टाछुट्टै पानामा छाप्न आदेश दिएपछि नयाँ ढाँचा बनाएर आयोगले मतपत्र छाप्न थालेको हो। नयाँ ढाँचाअनुसार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा हरियो रङमा निर्वाचन चिह्न अंकित हुनेछन्। त्यसैगरी, प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्रमा कालो रङका निर्वाचन चिह्न अंकित हुनेछन्।

ती मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार अब मतदाताले तीनवटा मतपत्रमा छाप लगाउनुपर्नेछ। रातो रङ भएको मतपत्र समानुपातिक निर्वाचन प्रणालीको हुनेछ, जुन पानाको माथिल्लो भागमा प्रतिनिधिसभाको मतपत्र हुनेछ भने तल्लो भागमा प्रदेश सभाको मतपत्र हुनेछ। एउटै पानामा रहेका दुईवटा मतपत्रको दुवैमा मतदान गर्नुपर्नेछ।

प्रत्यक्षतर्फको मतपत्रमध्ये कालो रङको प्रदेश सभा र हरियो रङको प्रतिनिधिसभाको मतपत्र भएकाले मतपेटिका पनि ती मतपत्रका लागि छुट्टाछुट्टै राखिएको हुन्छ ।

प्रकाशित मिति: १९ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्