वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैन : अध्यक्ष ओली



काँकडभिट्टा, झापा, कात्तिक २५

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

झापा क्षेत्र नं १ को धुलाबारीमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताउनुभयो ।

“नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली काँग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ,” उहाँले भन्नुभयो ।

आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उहाँको भनाइ थियो । आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएका अध्यक्ष चुनावी दौडाहामा आउनुभएको हो । वाम गठबन्धनबाट झापा क्षेत्र नं १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नं ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News