पवित्रा र पारस मिस एण्ड मिस्टर लुम्बिनी  


 


काठमाडौँ, मंसिर २

काठमाडौंको चाबहिल रहेको लुम्बिनी कलेजले सञ्चालन गरेको ‘दोस्रो मिस्टर एण्ड मिस लुम्बिनी ट्यालेन्ट कम्पिटिसन’मा पवित्र गुरुङ र पारस सापकोटाले उपाधि जितेका छन् । गुरुङले मिस लुम्बिनी र सापकोटाले मिस्टर लुम्बिनीको उपाधि हासिल गरेका हुन् ।

कार्यक्रममा छात्रातर्फ मिठु विश्वकर्माले मिस फ्रेन्डसिप, नीतु चापागाईंले मिस फोटोजेनिक, अञ्जना लामाले मिस पर्सनालिटी, लसता श्रेष्ठले मिस चार्मिङ र ममता लामाले मिस ट्यालेन्टको उपाधि जितेका छन् ।

प्रतिस्पर्धामा छात्रतर्फ सापकोटाले नै मिस्टर ट्यालेन्टको उपाधिसमेत हासिल गरेका छन् । यसैगरी जयराम न्यौपानेले मिस्टर फोटोजेनिक र मिस्टर फ्रेन्डसिप, समीर केसीले मिस्टर चार्मिङ र वीरेन्द्र सुनुवारले मिस्टर पर्सनालिटीको उपाधि जितेका छन् ।

२० जना छ्रात्रा र १७ जना छात्र प्रतिस्पर्धी रहेको कम्पिटिसनमा सहभागीहरुले नृत्य, गीत, नाटक, अभिनय, डिजेइङलगायत प्रस्तुति दिएका थिए । विद्यार्थीहरुको शैक्षिक मात्र नभई बाह्य क्षमता प्रस्फुटनका लागि प्र्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल एवं म्यानेजिङ डाइरेक्टर रविनचन्द्र कोइरालाले बताए ।

कार्यक्रमकी कोरियोग्राफर एवं ट्रेनर पूर्वमिस नेपाल माल्भिका सुब्बा रहेकी थिइन् । साथै रियाज श्रेष्ठ, पूर्व मिस नेपाल अश्मी श्रेष्ठ, स्वस्तिका राजभण्डारी, गोविन्द राई र निशा पाठक निर्णायक थिए । यस्ता किसिमका कार्यक्रमले सहभागीहरुको आत्मविश्वासको तह विकास हुने पूर्वमिस नेपाल श्रेष्ठले बताइन् ।

 

प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्