प्रकाशको आकस्मिक हृदयाघातका कारण मृत्यु, प्रचण्डले दिए छोरालाई दागबत्ती



काठमाडौं, म‌ंसिर ३

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण मृत्यु भएको छ ।

बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा दुई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा नै उनको मृत्यु भएको अस्पतालका मृटुरोग विशेषज्ञ डा जेपी जैसवालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने, “अस्पताल ल्याउँदा नै उहाँका हातखुट्टा चिसो भइसकेको थियो, आकस्मिक कक्षमा ल्याइएको नौ मिनेटमै हामीले उहाँको निधन भइसकेको जानकारी परिवारलाई गराएका थियौँ ।”

“अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा उनी पूर्णतया बेहोश, हातखुट्टा पूरै नीलो र कडा, श्वासप्रश्वास पूर्णतया बन्द, शरीर पूरै चिसो, इसिजी गर्दा मुटुले गतिविधि नगरेको हुँदा बिहान ५ बजेर ५९ मिनेटमा मृत घोषणा गरिएको थियो”, डा जैसवालले भने । उनको उपचारमा डा जैसवाल, डा यादव भट्टसहित, डा रवीन्द्रप्रसाद यादव, डा विमलेश श्रेष्ठ र डा महेश यादवलगायत संलग्न थिए ।

शरीर चिसो र सुन्निएको पाइएकाले अस्पताल ल्याइपुर्याउनु तीन घण्टाअघि नै उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् । पुत्रको निधन खबर पाएपछि चुनावी अभियानमा झापामा रहनुभएका अध्यक्ष दाहाल हेलिकप्टरमार्फत काठमाडौँ आएका थिए ।

छोराको मृत्युपछि शोकमा डुबेकी प्रकाशकी आमा सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नर्भिकबाट डा यादव भट्टको टोली दाहाल निवास लाजिम्पाट पुगेको थियो ।

श्रीमान्को मृत्युको खबर सुनेर छोरासहित अस्पताल पुगेकी प्रकाशकी पत्नी सिर्जना त्रिपाठी अचेत भएपछि उनको पनि नर्भिककै आकस्मिक कक्षमा स्लाइन दिई उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेता दाहाल काठमाडौँ पुगी निवास लाजिम्पाट पुगेर बिहान ११ बजेर ३० मिनेटमा अस्पताल आएका थिए । उनीसँगै पुत्री तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल पनि सँगै अस्पताल पुगेकी थिइन् ।

वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेकी प्रकाशकी पत्नी विना मगर पनि शोकाकुलावस्थामा अस्पताल पुगेकी थिइन् ।

शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका प्रकाश चुनावी अभियानका क्रममा चितवनबाट शनिबार काठमाडौँ आएको बताइएको छ ।

डा जैसवालले भने, “उहाँलाई आकस्मिक हृदयाघात भएको हो, किनकि उहाँको शरीर हेर्दा राम्रो छ, केही सेवन गरेको देखिएन, धेरैजसो युवामा आकस्मिक हृदयाघात देखिन्छ, वंशाणुगत पनि हुन्छ, ९९ प्रतिशत यही कारण मृत्यु भएको हुनसक्छ ।”

अन्य एक प्रतिशतमा मस्तिष्काघातको काराण हुन सक्ने स्ट्रोक हुनसक्ने चिकित्सकले बताएका छन् । आकस्मिक हृदयाघातका कारण हिँड्दाहिँड्दै छाती दुख्ने र तुरुन्त ज्यान जान सक्ने डा जैसवालले बताए ।

प्रकाशको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँबाट आर्यघाट लगेर दाहसंस्कार गरिएको थियो । निधन भएका छोरा प्रकाशलाई बुबा प्रचण्डले नै दागबत्ती दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News