बलिउड स्टार को-को सँग डराउँछन्, आमासँग थुरथुर सलमान


 


काठमाडौं, म‌ंसिर ६

पर्दामा दसाैँ गुण्डालाई तह लगाउने दबङ रोलमा देखिने भए पनि वास्तविक जिन्दगीमा भने बलिउडका केही सुपरस्टार निकै डरपोक छन् ।

डरपोक यसर्थमा कि कुनै गल्ती गर्दा उनीहरू कसैले आमाको पिटाइ नै खाने गरेका छन् त कसैले बाबुको । अनि कोही छोराछोरीसँग थरथर हुन्छन् । भारतीय अनलाइनले केही सेलेब्रेटी कोसँग डराउँछन् भन्नेबारे रिपोर्ट बनाएको छ ।

आमासँग थुरथुर सलमान

सुपरस्टार सलमान खान अहिले पनि आमासँग निकै डराउँछन् । केही गल्ती गरेको खण्डमा आमाले उनलाई मज्जैले पिट्छिन् । सलमानका अनुसार उनकी आमाको रिस निकै कडा छ । उनी रिस उठ्यो भने हातमा जे छ, त्यहीले पिट्ने गर्छिन् ।

आमा सधैँ आफ्नो विषयमा तनावमा हुने भएकाले हत्तपत्त उनलाई रिसाउन नदिने कोसिसमा लाग्ने गरेको सलमान बताउँछन् । सुपरस्टार भए पनि आमाले आफूलाई बच्चै ठान्ने गरेकाले वेलावेलामा उनले आमाको हातबाट पिटाइ र गाली भेटिरहन्छन् ।

बाबुसँग डराउँछिन् इशा

अभिनेत्री इशा देओललाई बाबु धर्मेन्द्रसँग डर लाग्छ । आमा हेमा मालिनीसँग भने उनको साथीजस्तो व्यवहार हुने गरेको छ । तर, बाबुसँग भने उनी नर्भस हुने गर्छिन् ।

बाबुले विनाकारण गाली नगर्ने गरेको बताउँदै उनी भन्छिन्, ‘उहाँ हाम्रो सुरक्षाको विषयलाई लिएर निकै चिन्तित हुनुहुन्छ । त्यसैले जहाँ जाँदा पनि सबै कुरा विस्तृतमा वताएर जानुपर्छ । नभनी कहीँ गइयो भने फर्किएपछि पनि खैरियत रहँदैन ।’

माधुरीलाई बाबुसँग डर

अभिनेत्री माधुरी दीक्षितचाहिँ बाबुसँग निकै डराउँछिन् । सुटिङमा सधैँ उनका बाबु सँगै हुने गर्दथे । जसकारण कुनै पनि कुरा झुट बोल्ने, ढाट्ने अवस्था नै हुँदैनथ्यो ।

केही गरी कुनै कुरा झुटो बोलियो र बाबुले थाहा पाए भने उनका बाबु बोल्न बन्द गर्दथे । जब बाबु आफूसँग बोल्दैनथे, तब माधुरीले आफूबाट केही गल्ती भएको चाल पाउँथिन् । बाबुले निकै माया गर्ने भएकाले उनी रिसाउँदा आफूलाई निकै डर लाग्ने
माधुरी बताउँछिन् ।

बाबुले हुर्मत लिन्छन् शाहिदको

शाहिद बाबु पंकज कपुरसँग निकै डराउँछन् । बाबुको रूपमा आफूलाई कहिल्यै गाली नगरेको भए पनि निर्देशकका रूपमा भने बाबुले आफ्नो हुर्मत लिने गरेको शाहिद बताउँछन् ।

त्यसैले उनी बाबुसँग सधैँ सहज रहन्छन् । बाबुले उनजस्तै पर्फेक्ट अभिनेता बनोस् भन्ने चाहेकाले सधैँ आफूलाई निगरानीमा राख्ने गरेको शाहिद बताउँछन् ।

बाबु पंकज निर्देशित ‘मौसम’ फिल्मको सुटिङका वेला आफूलाई निकै गाह्रो भएको स्मरण शाहिदको छ । हत्तपत्त नरिसाउने, रिसाएपछि भने हायलकायल बनाउने बाबुको बानी भएकाले शाहिद सधँै सजग रहने गरेका छन् ।

छोरीसँग डराउँछन् अजय

एक्सन हिरो अजय देवगणलाई छोरी न्यासासँग निकै डर लाग्छ रे ! न्यासाले आफूलाई निकै गाली गर्ने भएकाले डर लाग्ने अजय बताउँछन् । छोरीले आफ्नो हरेक काममा नजर राख्ने र कतै गल्ती, कमजोरी भए कराइहाल्ने अजय सुनाउँछन् ।

उनी आफूले कुन फिल्ममा राम्रा अभिनय गरियो, कुनमा ओभर एक्टिङ गरियो भन्ने कुरा छोरीको कमेन्टबाट थाहा पाउँछन् । छोरीको हस्तक्षेपका कारण कतिपय फिल्म अस्वीकार गरेको समेत अजय बताउँछन् । छोरीको सुझाब अपनाउनाले आफूलाई फाइदा भइरहेको उनी बताउँछन् । उनी छोरीलाई कहिल्यै रिसाउन नदिने कोसिसमा रहन्छन् ।

आमाको थर्काइमा प्रीति


प्रीति जिन्टा आमादेखि निकै डराउँछिन् । बच्चैदेखि आमाले कडा नीति नियम लगाएकाले प्रीति डराउने गरेकी हुन् । पार्टीबाट अबेर घर पुग्यो भने उनकी आमा ढोकामै कुरिरहेकी हुन्छिन् ।

किन ढिलो भयो भनेर स्पष्टीकरण दिनका लागि बाटोमै प्रीतिले विभिन्न बहाना सोच्नुपर्दथ्यो । आमाले गर्ने गाली र दिने सजाय कडा हुने भएकाले आफू सधैँ सजग हुने गरेको प्रीतिको स्मरण छ ।

आमा रुँदा टाइगरलाई टेन्सन

टाइगर श्राफ आमादेखि डराउँछन् । खासगरी आमाको आँसुदेखि उनलाई डर लाग्ने गर्दछ रे ! उनकी आमाको सानो–सानो कुरामा पनि धेरै तनाव लिने बानी छ । उनी साह्रै भावुक स्वभावकी छिन् ।

आमा रोइन् भने बाबु ज्याकी पनि रुने अनि आफू पनि रुने भएकाले हत्तपत्त आमाको आँखाबाट आँसु नझरोस् भन्ने कामनामा हुने गर्छन्, टाइगर । आमा रुँदा उनलाई के भयो भनेर निकै डर लाग्ने उनी बताउँछन् ।

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्