मलेसियाबाट १६ हजार नेपाली फिर्ता


 


काठमाडौं, पुस १६

मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ ।

उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनस् भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।

उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।

त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्छ । तीबाहेक आफूसँग भिसा नभएको, तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनु पर्दैन ।

उनीहरूले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट मिलाई नेपाल फर्कन सक्छन् ।

मलेसियाली सरकारले गैरकानुनी कामदारलाई वैधानिकता दिने प्रक्रियामा सामेल गराई पुनस् रोजगारी दिन ‘रिहायरिङ’ नामक कार्यक्रम ल्याएको थियो ।

उसले मुलुकमा रहेका गैरकानुनी कामदार घटाउन स्वदेश फर्कने या वैधानिक प्रक्रियामा सामेल भई काम गर्ने अवसर रोज्न दिएको थियो ।

उक्त कार्यक्रमको लाभ उठाउँदै हजारौं नेपाली स्वदेश फिरिसकेका छन् । सन् २०११ अगस्टदेखि नै गैरकानुनी कामदार हटाउने अभियान चलाएको मलेसियाले ६ वर्षयता आममाफी, वैधानिकीकरण, पुनस् रोजगारीलगायत आधा दर्जन अवसरयुक्त कार्यक्रम सञ्चालन गरिसकेको छ ।

यद्यपि अपेक्षित रूपमा त्यस्ता कामदारको संख्या घट्न नसकेकाले उसले त्यस्ता कामदारविरुद्ध खोजी र धरपकड अभियानसमेत सँगसँगै चलाउँदै आएको छ ।

यस वर्ष घर फिर्ने नेपालीबाट दूतावासले साढे ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । वैधानिक रूपमा करिब २० लाख आप्रवासी कामदार कार्यरत मलेसियामा अझै लाखौं गैरकानुनी हैसियतमा रहेको अनुमान छ ।

मलेसियाबाट यस वर्ष एक हजार ४० जना नेपालीको उद्धार गरिएको छ । नेपाली दूतावासको तथ्यांकअनुसार यसै वर्ष (सन् २०१७) ती नेपालीको उद्धार गरिएको हो ।

उनीहरू घर फिर्ती हवाई टिकट अभावमा मलेसियाका फिर्ती केन्द्रहरूमा अलपत्र थिए । दूतावासले तीमध्ये अधिकांश नेपालीलाई सरकारी सहयोग, निजी संघसंस्था एवं कम्पनीहरूको सहयोगमा उद्धार गरिएको हो । कान्तिपुर

प्रकाशित मिति: १६ पुस २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्