पूर्वेली लोक जुहारी ‘मायाँ छ रुमालैमा’ गीति भिडियो सार्वजनिक


 


सँगीत पारखी युवा पदम थुलुङ राईको पूर्वेली झर्रो लोक जुहारी ‘मायाँ छ रुमालैमा’ गीति भिडियो सार्वजनिक भएको छ ।

पूर्वी नेपालमा सर्वाधिक रुचाइने लोपोन्मुख भाकामा आधारित जुहारी गीत ‘मायाँ छ रुमालैमा’को गीति भिडियो माघे संक्रान्ति तथा निरात नयाँ वर्ष येलेदोङ–५०७८ को अवसर पारेर युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

हाइलाईट्स म्यूजिकमार्फत सार्वजनिक गरिएको लोक जुहारी भाकाको भिडियोमा स्वयम् गायक तथा संगीतकार थुलुङ र गायिका सरला राईको स्वर सजिएको छ ।

करिब छ मिनेट लामो लोक जुहारीमा खासगरी पूर्वी क्षेत्रमा बसोवास गर्ने किरात समुदायले गाउने लोपोन्मुख भाका समेटिएको छ ।

गीति भिडियोमा सितोरियो करातेकी अन्तराष्ट्रिय रेफ्री समेत रहेकी मोडल सेशुका राई, पवन राई, निर्मला पुलामी, वशन्त राई, दिनेश राई, रेनुका राई लगायतको अभिनय देख्न सकिन्छ ।

गणेशकुमार राईको शब्द र अनिल थुलुङको नृत्य निर्देशन रहेको लोक जुहारीको भिडियोको निर्देशन युवराज राईले गर्नुभएको हो ।

किरात मौलिक बस्तीमा भएको विहेमा एक जोडी प्रेमको चोखो तथा मौन बार्तालापको दृश्य देखिने भिडियो खोटाङकै लामिडाँडा गाउँपालिकाको चिउरीबासमा उतारिएको हो ।

वशन्त राई र दिनेश राईले निर्माण गरेको गीतको भिडियोमा विहेका क्रममा हुने विभिन्न रितलाई सांगीतिक रुपमा चित्रण गरिएको छ ।

गाउँघरका बुढापाकासँगै लोपोन्मुख बनिसकेको सो लोकभाका विशेषगरी गाउँघरमा एकादसी लगायतका मेला हाटबजार तथा विहेबारी, छेवर लगायतका शुभ कार्यमा पाहुनासँग छुट्टिने बेलामा गाउने गरिन्छ ।

व्यवसायिकताका लागि मात्र नभएर सदियौंदेखि बसोवास गर्ने बाजेबराजुले गाएको गीत संरक्षणका लागि पनि भिडियो निर्माण गरिएको गायक तथा सँगीतकार थुलुङले बताउनुभयो ।

ईलाहावादबाट सँगीत विद्यामा बिम्यूज गर्नुभएका थुलुङ पछिल्लो समय मौलिक भाकाहरुलाई सँग्रहित गर्ने अभियानमा लागी पर्नुभएको छ । २०६८ सालदेखि व्यवसायिक संगीतमा समर्पित थुलुङले दर्जनौं गीत बजारमा ल्याइ सक्नुभएको छ ।

सरदरका बजार भन्दा पनि साँस्कृतिक धारबाट व्यवसायिकता समाउन रुचाउनुहुने गायक तथा सँगीतकार थुलुङ सँगीतमा संख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले अघि बढ्नुपर्ने जनाउनुहुन्छ ।

प्रकाशित मिति: ३ माघ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्