‘अमूर्त सांस्कृतिक सम्पदा’ माथि अन्तरविमर्श


 


programeकाठमाडौं, भदाै १०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय कृपासुर शेर्पाले नेपाल विविध भाषा, संस्कृति एवं सम्पदाले सम्पन्न राष्ट्र रहेको बताउँदै यसको संरक्षण एवं सम्बद्र्धनमा नेपाल सरकार योजनाबद्ध ढङ्गले प्रतिबद्ध भएर लागेको उल्लेख गरे । बुधबार राजधानीमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित ‘अमूर्त सांस्कृतिक सम्पदा’ विषयक एक अन्तरविमर्श कार्यक्रम बोल्दै मन्त्री शेर्पाले उक्त कुरा बताएका हुन् ।

उक्त कार्यक्रममा अति सीमान्तकृत दनुवार र दुरा जातिका अमूर्त सांस्कृतिक सम्पदाहरूबारे दुई कार्यपत्र प्रस्तुत गरिएका थिए ।
लेखक तथा संस्कृति अन्वेषक श्रीराम श्रेष्ठले ‘अति सीमान्तकृत दनुवार जातिका अमूर्त सांस्कृतिक सम्पदा’ र यमबहादुर दुराले ‘दुरा जातिका विद्यमान अमूर्त सांस्कृतिक सम्पदाहरू’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमाथि क्रमशः संस्कृतिविद् डा. भक्त राई र संगीतकार तथा संस्कृतिविद् बुलु मुकारुङले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य श्रवण मुकारुङ, गीतकार श्याम तमोटले पनि अमूर्त सांस्कृतिक सम्पदा विषयमा आआफ्ना विचार राखेका थिए ।

परिषद्का अध्यक्ष एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले आफ्नो संस्था नेपाली वाङ्मयको श्रीवृद्धिका साथै भाषा र संस्कृतिको उन्नयनका लागि निरन्तर रुपमा क्रियाशील रहेको बताए । कार्यक्रममा संगीतकार शान्तिराम राई, लेखक तथा पत्रकार डम्बरकुमार गिरी, साहित्यकार बाबा बस्नेत, गीतकार शुभ मुकारुङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्