केन्याविरुद्ध नेपाल तीन विकेटले विजयी, शीर्ष दुर्इमा स्थान बनाउने सम्भावना


 


काठमाडौं, माघ २९
आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले आफ्नो तेस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले केन्यालाई तीन विकेटले पराजित गरेको छ । जितसँगै नेपालको शीर्ष दुर्इमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।

विन्डहक स्थित वन्डररर्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले ५० ओभरमा ८ विकेट गुमाउदै एक सय ७७ रन बनायो । पहिलो विकेटका अर्धसतकिए साझेदारी गर्न सफल भएपनि ६५ रन हुँदा सन्दिप लामिछानेले पहिलो सफलता दिलाए ।

ओपनर ओबान्डा ४१ रनमा आउट भए । केन्याका लागि ओपनर इरफानले ४२,कोलिन ओबुया २७, नेल्सन ओडिम्बोले २४ तथा सीम नोग्चीले २३ रन जोडे । बलिङमा सन्दिपले पाँच तथा बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए ।

यो खेलमा सन्दिपले करियरकै उत्कृष्ट बलिङ गरेका थिए । नामिविया विरुद्ध विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा डेब्यु गरेको सन्दिपले लिस्ट एमा पहिलो पटक पाँच विकेट लिन सफल भए । जारी प्रतियोगितामा उनको विकेट सख्या १४ पुगेको छ । डिभिजन टु मा एकै प्रतियोगितामा धेरै विकेट लिने बलरमा सन्दिप अगाडि छन ।

जवाफमा नेपालले एक बल बाँकि हुदा नेपालले ७ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १४ रन बनाउदा नेपालले तीन विकेट खेर फाल्यो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुदा दिपेन्द्रसिंह ऐरी एक रनमै आउट भए ।

कप्तान पारस खड्का ब्यक्तिगत ४२ रनमा आउट भएपछि नेपालले ६९ रनमा चार विकेट गुमाउन पुग्यो । खड्काले ३ चौका र २ छक्का प्रहार गरेका थिए । शरद भेषवाकर ब्यक्तिगत १९ रनमा आउट भए । जसका कारण नेपालले पाँचौ विकेट गुमायो ।

छैटौ विकेटका लागि आरीफ शेख र रोहितकुमार पौडेलले ८७ रनको साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याए । आरीफले ४२ रन बनाए भने रोहितले ४७ रनको योगदान गरेका थिए । अब नेपालले अन्तिम खेल बुधबार क्यानडासँग खेल्ने छ ।

प्रकाशित मिति: २९ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्