माछापुच्छ्रे बैंकले टर्कीबाट रेमिट्यान्स भित्र्याउने



काठमाडौं, बैशाख ७
माछापुच्छ्रे बैंक लिमिटेड र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौता संगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे बैंक पहिलो बैंक भएको छ ।

युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्की स्थित अक्टिफ बैंकको पूर्ण स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो र यसको टर्कीमा मात्र ४,७०० भन्दा बढी ग्राहक सेवा केन्द्र रहेका छन् ।

ग्राहकको सन्तुष्टि र ग्राहक सेवामा समर्पित भएको हुदाँ युनिभर्सल पेमेन्ट ट्रान्सफर विश्वभरी नै पैसा पठाउन धेरै मानिसहरुको रोजाइँ समेत रहेको जनाएको छ ।

यो सम्झौतासंगै टर्कीमा कार्यरत करिब १२ हजार नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति: ७ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्