कविता – ‘म गोपाल चिमोरिया’



                              धर्म तिवारी

आयु द्रोण सुते भन्ने साटो
मेरी आमाले भनेकी थिइन्
सरकारी जागिर खानु है बाबु
खरदार, सुब्बा वा हाकिम भएर
मेरो शीर उँचो राख्ननु है नानी
अफसोच,म निकम्मा भएँ बेकम्मा भएँ
त्यसैले , म गोपाल चिमोरिया भएँ ।

मलाई तातेताते गराए आमाका ती हातहरुले
ठीक बेठीक छुट्याएर उभिन सिकायो आमाको काखले
म कसरी नाईँ भन्न सक्थेँ मेरी आमालाई
सरकारी जागिर खान्न भनेर
देशको सेवक हुन्न भनेर
स्कुल पढ्दा टिफिनका बट्टा र स्कुलब्याग थिएनन् मसँग
म हिड्थेँ सभाखोलाको तीरैतीर पानीसँगै
मैले पाइन कहिलै सिनेमा हेर्न र अभिनय गर्न
यदि पाएको भए अभिनय सिक्थेँ होला
यो रङ्गमञ्चमा म रङ्गिन्थेँ होला
मैले देखिन इलियड र ओडेसीहरु
मैले लेखन पाइन रोमियो जुलियट/लैला मजनुहरु
केही पढेँ मात्र सिक्न सकेनछु
केही लेखेँ मात्र जीवन भेट्न सकेनछु
म निकम्मा भएँ, म बेकम्मा भएँ
त्यसैले, म गोपाल चिमोरिया भएँ ।

म जाँदै थिएँ योगमायाको गाऊँ
जहाँ नारीलाई पुज्न सकियोस्
म जाँदै थिएँ बालागुरु षडानन्दको गाऊँ
जहाँ तन्नेरीहरु दिनभर रक्सी पिएर
क्यारमबोर्डका गोट्टीसँग साक्षत्कार गर्नुको सट्टा
रुद्राक्षको माला लगाई वेद र मुन्धुम पाठ गरिरहेका होऊन्
म जाँदै थिएँ नारदमुनि र रामप्रसादको गाऊँ
जहाँ देखियोस् समृद्ध समाजको झल्को र
भेटिऊन् न्यायमा रमेका उद्यमीहरु
म जाँदै थिएँ सरकारको सिन्दुर पहिरेर भोजपुर
टन्न पेट भरिएर अघाएकाहरुले
धेर भएको भोज पुरेकै होओस्
र म जाँदै थिएँ अन्नले भरिएको अन्नपूर्ण
जहाँ सधैँभरि सहकाल र सम्मान भेटियोस्
अफसोच,
कतिकति रहरहरु पूरा हुन बाँकी देखेँ
छाती पिटी आमा अझै, रुन बाँकी देखेँ
म बेकम्मा भएँ, म निकम्मा भएँ
त्यसैले, म गोपाल चिमोरिया भएँ ।

म सरकारी भएर भोजपुर पुग्दा
भेट्न हिंडेकोथें बिमल कोइरालालाई
खोज्न हिंडेकोथें शंकर कोइरालालाई
मभित्र उत्साहको पहाड ठडिंदा
मैले सोचेकोथें भोजपुरका सपुत भेट्छु भनेर
सधै हातमुख जोर्न धौधौ हामी नैपाली
भाग्यमानी भएको देखें
एक वर्षमा ६२ अर्बको रक्सी खाने हामी नेपालीमध्ये
३८ हजारको हिस्सा मेरो भागमा पर्छ वर्षको,
म एक रुपैयाँको नि रक्सी नखाने नाथेको
३८ हजार कस्ले खाइदिन्छ होला ?
एक वर्षमा २० अर्बको कस्मेटिक लगाउने हाम्रा नारीहरुमध्ये
मेरी अर्धाङ्गिनीको भागमा २० हजार पर्छ वर्षको
सट्टामा, मैले एक रुपैयाँको पनि कस्मेटिक
किनिदिन नसक्दा म निन्दित भएँ लोकमा
नामर्द भएँ समाजमा, त्यो बीस हजारको कस्ले लाउँछ होला
म चिन्तित भएँ यहाँनेर,
किनकि, खाना, नाना र छानाभन्दा
कस्मेटिकमा इज्जत देख्छ समाज
मैले खोजेको भोजपुर भेट्न पनि सकिन
सेल्मे, टेम्के र सिलिचुङ टेक्न पनि सकिन
मभित्रको हिम्मत बगिरह्यो पिखुवा बनेर
म बर्लङ्ग ढलेँ, निम्छरो र कामचोर बनेँ
त्यसैले, म गोपाल चिमोरिया बनेँ ।

वर्षेनी विश्वविध्यालयले उत्पादन गर्ने
अनुत्पादक बनमाराहरुमध्येको एक थिएँ म
थाम्न सकिन मैले पञ्जिकरणका ठेलीहरु
बोक्न सकिन मैले ग्राम पिताका क्षेत्राधिकार
कानूनका दफा च्यापेर पुग्न सकिन म धोद्लेखानी
असारमा पेश्की लिएर सकिन असारमै फर्स्याउन
सकिन मैले भोकाएकालाई अघाउन र अघाएकालाई मनाउन
भेटिन कतै साल्पाको पानीजस्तो सङ्लो मन
भेटिन कतै योगमायाको त्याग
अयोग्य भएँ म सबै, यो कस्मेटिक दुनियाँमा
त्यसैले, म गोपाल चिमोरिया भएँ

२०७२ असार ११ गते भोजपुरमा मृत्यु हुने गाविस सचिव गोपाल चिमोरियाको सम्झनामा निजामति दिवस भदौ २२ गते बाचन गरेको कविता

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News