संघीय संसदको दोस्रो अधिवेशन आजदेखि सुरू हुँदै, यस्तो छ कार्यसूची


 


काठमाडौँ, वैशाख  २३

संघीय संसदको दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदका दुवै सदनको बैठक आजदेखि बस्न लागेको हो ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ ।

प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएको हो । यो अधिवेशनलाई बजेट अधिवेशनकारूपमा लिइन्छ । संसद्को मुख्य जिम्मेवारी कानून निर्माण गर्नु भएपनि यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत हुनेछ ।

संसद् सचिवालयका अनुसार आज दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरू प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा आ–आफनो सभासँगसम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । पछिका बैठकहरूमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, सशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरू क्रमशः स्वीकृत हुने छन् ।

वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ ।

अधिवेशनको क्रममा जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन समेत हुनेछ ।
त्यसपछिका संसद्को बैठकमा नीति तथा कार्यक्रम माथि छलफल गर्ने, प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने सन्दर्भ रहने छ ।

संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले जेठ १५ गते सदनमा सरकारको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुनेछ ।
अधिवेशनका क्रममा बजेटमाथि एक हप्ता सैद्धान्तिक छलफल गर्ने र अर्थमन्त्रीद्वारा जवाफ दिने कार्यक्रम रहने छ ।

त्यसपछिका बैठकमा विनियोजन विधेयक प्रस्तुत गरी सबै मन्त्रालयका शीर्षकगत छलफल गर्ने, पारित गर्ने र सोसँग आश्रित विधेयकहरू आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने समयसीमासहितको सम्भावित कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

अधिवेशनको क्रममा सदनमा प्राप्त संविधान कार्यान्वयनसम्बन्धी विभिन्न विधेयमाथि छलफल गर्ने, संसद् सचिवालयमा दर्ता हुन आएका सार्वजनिक महत्वका र संकल्पलगायतका प्रस्तावमाथि छलफल गरिनेछ ।

संघीय संसद्को दोस्रो अधिवेशनको क्रममा संसदीय अभ्यासका लागि महत्वपूर्ण मानिएका समितिहरू गठन गरिनेछ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाको अध्यक्ष गणेश तिमिल्सिना हुनुहुन्छ । प्रतिनिधिसभा २७५ तथा राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ ।

प्रतिनिधिसभा तल्लो सदनका रूपमा रहेको छ भने प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभालाई माथिल्लो सदनका रूपमा लिइन्छ ।
संघीय संसद्मा नै राजनीतिक दलको उपस्थिति रहेकोमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

संघीय संसद्मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सत्तापक्ष तथा नेपाली काँग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ ।

प्रकाशित मिति: २३ बैशाख २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्