सप्तरी कारागारमा दुई गुणा बढी कैदीबन्दी


 


राजविराज, वैशाख २६

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ ।

करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ ।

पुरुषतर्फको ‘ए ब्लक’ मा १८१ जना र ‘बि ब्लक’ मा ९६ जना पुरुष र महिला ब्लकमा एक बालिकासहित १७ जना कैदीबन्दी राखिएको छ ।

एकसय २५ पुरुष र १० महिला गरी कूल १३५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने भएकाले पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको कैदीबन्दीले गुनासो गरेका छन् ।

२००८ सालमा निर्माण गरिएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण पनि कैदीबन्दीलाई समस्या हुने गरेको कारागारले जनाएको छ ।

माटो र ढुंगाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कन सक्ने खतरासमेत रहेको जेलर सत्यनारायण यादवले बताउनुभयो ।

राजविराज कारागारमा ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचेर राख्नुपरेका कारण गर्मी महिनाको समयमा धेरै समस्या हुने गरेको कारागारका कैदीबन्दी बताउँछन् ।

कारागारको नाममा रहेको पाँच बिगाहाभन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करीब तीन कट्ठा जग्गा अतिक्रमणमा परेको कारागारका जेलर यादवको भनाइ रहेको छ । रासस

प्रकाशित मिति: २६ बैशाख २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्