प्रदेश नं १ : भीम आचार्य प्रायः गयल, प्रदेश सभाको बैठकमा को कति उपस्थित भए ?


 


विराटनगर, बैशाख २८
सुनसरी १ ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचित एमाले केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज भीम आचार्यको अनुहार प्रदेशसभा बैठकमा बिरलै देख्न पाइन्छ ।

एमाले प्रदेश संसदीय दलको नेतामा प्रदेश कमिटीका सह–इन्चार्ज शेरधन राईसँग पराजित भएका आचार्यलाई प्रदेशसभाको दोस्रो बैठकमा सबैले देखेका थिए । तर त्यसपछिका बैठकमा आचार्य देखिन छाडेका हुन् ।

९३ दिनसम्म चलेको प्रदेशका ३९ वटा बैठकमध्ये आचार्य १० वटामा मात्र उपस्थित भएको रेकर्ड प्रदेशसभा सचिवालयमा छ ।

बैठक सञ्चालन हुनुअघि नै आचार्यले हाजिर गररे फर्कने गरेको स्रोतको दाबी छ । ३९ वटा बैठकमध्ये आचार्य २९ वटा बैठकमा अनुपस्थित छन् ।

प्रदेसभा नियमावलीमा १० वटा भन्दा बढी बैठकमा उपस्थित हुन नसके सभामुखको स्वीकृति लिनुपर्ने उल्लेख छ ।

‘काठमाडौं बस्नुपर्ने भएकाले केही दिन बैठकमा उपस्थित हुन नसक्ने लिखित निवेदन सदस्य आचार्यको आएको छ,’ सभामुख प्रदीपकुमार भण्डारीले भने, ‘अस्ति पनि आएर हाजिर गर्नुभएको थियो । पहिलादेखि नै आउन नपाउँदा फोनमा जानकारी गराउने गर्नुभएको छ ।’

प्रदेश १ का ९३ सदस्यमध्ये मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुख बाहेक ८६ जना सदस्यमध्ये ३९ वटा बैठकमा ११ जना सदस्यहरू मात्र नियमित उपस्थित भएका छन् ।

नियमित उपस्थित हुनेमा इन्दिरा राई, उमिता विश्वकर्मा, कला घले, कल्पनाकुमारी सरदार, चुमनारायण तबदार, वसन्तीदेवी यादव छन् ।

यसैगरी विजयकुमार विश्वास, शिवनारायण गनगाई, सन्जाकुमारी दनुवार, सावित्रीकुमारी रेग्मी र सुनीताकुमारी चौधरी सबै बैठकमा नियमित उपस्थित भएको सचिवालयको अभिलेखमा छ ।

झापाका गणेशकुमार काम्बाङग २१ वटा बैठकमा आएनन् भने झापाकै ओमप्रकाश सरावगी १८ वटा बैठकमा अनुपस्थित रहे । खोटाङका राजन राई १६ बैठकमा उपस्थित भएनन् ।

संखुवासभाका पूर्णप्रसाद राई, झापाका पूर्णप्रसाद राजवंशी, झापाका श्रीप्रसाद मैनाली र सोलुका बुद्धिकुमार राजभण्डारी २४ वटामा मात्र उपस्थित छन् ।

सोलुका सदस्य राजभण्डारी एमाले संसदीय दलका प्रमुख सचेतक हुन् । उनीहरू १५ वटा बैठकमा अनुपस्थित भएका हुन् ।

धेरै सदस्य १ देखि १४ पटकसम्म बैठकमा उपस्थित नरहेका छन् । प्रत्येक सदस्यले बैठक सञ्चालन भएको दिन ७५० रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।

स्थायी राजधानी तोक्न ढिलाइ भएका कारण धेरैसदस्यले कोठा भाडामा समेत लिएका छैनन् । राजधानी नतोकिएको र तीन दिनभन्दा बढी बैठक लगातार सञ्चालन नभएका कारण बसाइ पनि अन्योलमा परेको हो ।

अधिकांश सदस्यहरू राजधानी तोकिएपछि मात्र कोठा भाडामा लिने सोचमा छन् । उनीहरू जिल्लाबाटै धाउने गरेका कारण पनि अनुपस्थित हुनेको संख्या बढी भएको हो ।

प्रदेशसभाको बैठक लामो समयसम्म नचलेका कारण अधिकांश सदस्य घर फर्कन चाहन्छन् ।

प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्