बालगायक अशोक दर्जीको रकममा चलखेल !


 


युट्बु भाइरल ब्वाई अशोक दर्जीको नाममा आर्थिक चलखेल भएको पाइएको छ । झापाको दमक–२ मा घर निर्माण अन्तिम चरणमा पुगेको छ । तर, आर्थिक समितिका संयोजक तथा चर्चित संगीतकार/ गायक टंक बुढाथोकीले हालसम्म अशोक दर्जीको नाममा के कति पैसा उठेको छ भन्ने बारेमा जानकारी नदिएको भन्दै घर निर्माण समिति असन्तुष्ट देखिएको छ ।

अशोकका लागि भन्दै टंकले निर्माण गरेको ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ गीतबाट आएको सम्पूर्ण रकम घर निर्माणमा दिने घोषणा गरे । त्यसपछि केही स्थानबाट सहयोग संकलनसमेत भएको थियो । त्यस्तै, मलेसिया र दुवईको सांगितिक कार्यक्रममा पनि अशोक पुगे ।

त्यहाँबाट घर निर्माणमा कति जुट्यो भन्ने हालसम्म आर्थिक समितिका संयोजक बुढाथोकीले केही बताएका छैनन् । त्यस्तै, पोखरा, झापालगायतका स्थानमा पनि अशोकको सांगितिक कार्यक्रम भयो । तर, घर निर्माणमा कति रकम जुट्यो, त्यसबारेमा टंकबाहेक कसैलाई थाहा छैन । घर निर्माण समितिका अध्यक्ष पूर्ण वाइबाले आफ्नै लगानीमा घर निर्माण गरिरहेका छन् ।

आर्थिक समितिले आफूलाई किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरेको र घर निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए । हालसम्म १ लाख ६० हजार रुपैयाँ आफ्नो ब्यक्तिगत खर्च भइसकेको पनि उनले बताए । करिब १२ लाख रुपैयाँमा घर निर्माण सक्ने जनाइएको छ । झापा दमकमा निम्न वर्गको परिवारमा जन्मिएका अशोक सानो उमेर देखि नै गायनमा रुची राख्ने उनि बाटो, होटल लगायतका स्थानमा दिनभर गीत गाउँथे ।

आर्थिक अवस्थाका कारण उनी अरु बालबालिका स्कुल जाने बेला सडक र विभिन्न होटलमा आएका ग्राहकहरुको अगाडी गीत गाउन पुग्थे । त्यसैबाट उनले केही अर्थाेपार्जन गरेर परिवारको सामान्य आवस्यकता पुरा गरिरहेका थिए । करिब दुई वर्षभन्दा अगाडी सडकमा गीत गाइरहेको अवस्थामा झापा दमकका रुपक सापकोटाले उनको भिडियो खिचे र सामाजिक संजालमा राखेर भाइरल बनाएका थिए । त्यसपछि युट्बुमार्फत उनको चर्चा भएको थियो । भिडियो हेर्नुहोस् :

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्