खानेपानीमा विष, १३ विद्यार्थी बिरामी



मोरङ, साउन २९

मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनुभयो । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए ।

खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो ।

घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४९१ विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News