चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को टोली दमकमा


 


द नेपाली कथानक चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को युनिट प्रमोसनका लागि झापा आएको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नवनायक धिरज मगर र निर्देशक रेनासा बान्तावा राईसहितको टोली झापा आईपुगेको हो ।

टोलीले आज दमकमा फिल्मका बारेमा जानकारी दिएको छ । आगामी असोज ५ गते रिलिज हुने चलचित्रको ट्रेलरले पाइरहेको मायाबाट आफूहरु सफल हुनेमा आशावादी रहेको उहाँहरुले बताउनुभयो । प्रेम र विछोडको मायाभावमा बनेको चलचित्र विशुद्ध मनोरञ्जनात्मक भएको यसै फिल्मबाट ठूलो पर्दाको निर्देशकमा डेब्यू गर्नु भएकी रेनासा राईले बताउनु भयो ।

उहाँले यस चलचित्रले युवा पुस्तालाई भरपूर मनोरञ्जन दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । कला क्षेत्रमा १० बर्षदेखि कोरियोग्राफर भएर बिताएपनि निर्देशकको रुपमा राईको यो पहिलो चलचित्र हो । नायिका साम्राज्ञीले चलचित्र कुनै विशेष विषयवस्तुमा नबनेपनि सबैले हेर्न मिल्ने गरिको बनेको बताउनु भयो ।

नवनायक धिरज मगरले आफ्नो फिल्मी करियरमा यस चलचित्रले ठूलो र महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले लगानी गरेका छन् । चलचित्रमा साम्राज्ञी, धिरजका साथै शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, रुबी राणा, विवेक लिम्बू, सुनिता श्रेष्ठलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्