छक्का पन्जा ३ ले बनायो एतेहासिक रेकर्ड


 


काठमाण्डौँ, कात्तिक ११

घटस्थापनाको दिन पारेर प्रदर्शनमा आएको चलचित्र छक्का पन्जा ३ ले नयाँ रेकर्ड बनाएको छ । चलचित्रलाई यस वर्षकै प्रतीक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि राम्रो व्यापार गरिरहेको छ ।

हुन त यो युनिटले निर्माण गरेका अघिल्ला चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । अझ भनौं चलचित्र बजारको व्यापारमा यो ब्यानरले सनसनी नै मच्चाउने गरेको छ । जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ ।

फूलपातीबाट रिलिज भएको असोक शर्मा निर्देशित चलचित्र जय भोले प्रदर्शनमा आएसँगै यो चलचित्रको व्यापार ओरालो लाग्न सक्ने धेरैको अड्कल थियो । तर चलचित्रलाई फूलपातिबाट रिलिज भएको जय भोलेले पनि कुनै असर गरेको छैन ।

छक्का पन्जा ३ ले रिलिज भएको १७ दिनमा बक्स अफिसमा चलचित्र इतिहासकै सम्मानित व्यापार गरेको छ । चलचित्र रिलिज भएको १८ औं दिनसम्मको व्यापारलाई हेर्ने हो भने चलचित्रले काठमाडौं उपत्यकामा मात्र करिब ८ करोड ५० लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

यस्तै काठमाडौं उपत्यका बाहिरको १७ औं दिनसम्मको व्यापार करिब ७ करोड ९० लाखभन्दा माथि भएको बुझिएको छ । उपत्यकाबाहिर र भित्र दुवैको व्यापारलाई जोडेर हेर्दा १० गतेसम्ममा चलचित्रले करिब १६ करोड ४ लाखको व्यापार गर्न सफल भएको देखिन्छ ।

यसलाई हेर्दा चलचित्र छक्का पञ्जा ३ ले आफ्नै ब्यानरमा निर्माण भएको यस अघिको चलचित्र छक्का पन्जाको रेकर्ड समेत ब्रेक गर्न सफल भएको छ ।  यसअघिको चलचित्र छक्का पञ्जा ले ११८ दिनमा बनाएको रेकर्ड छक्का पञ्जा ३ ले १७ दिनमा नै तोडेको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्